सुदूरपश्चिमका मुख्यमन्त्री शाहले बुधबार विश्वासको मत लिने

सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाहले बुधबार विश्वासको मत लिने भएका छन् । प्रदेश सभा सचिवालयमा मुख्यमन्त्री शाहले विश्वासको मत लिने प्रयोजन सम्बन्धी प्रस्ताव दर्ता गराएका छन् ।

बुधबार दिउँसो ३ बजे बस्ने प्रदेश सभा बैठकमा मुख्यमन्त्री शाहले विश्वासको मत लिने कार्यसूची छ । २० साउनमा नेकपा एमालेको समर्थनमा संविधानको धारा १६८ को उपधारा २ बमोजिम कांग्रेस संसदीय दलका नेता समेत रहेका शाह मुख्यमन्त्री नियुक्त भएका थिए ।

उनी सुदूरपश्चिमको नेतृत्वको दोस्रो कार्यकालका लागि दोहोरिएका छन् । मुख्यमन्त्री नियुक्त भएलगत्तै नागरिक उन्मुक्ति समेतलाई समेटेर शाहले मन्त्रिमण्डललाई पूर्णता दिए ।

सुदूरपश्चिम प्रदेश सरकारमा मुख्यमन्त्रीसहित नेपाली कांग्रेसका ३ मन्त्री र २ राज्यमन्त्री, नेकपा एमालेका ३ मन्त्री र १ राज्यमन्त्री तथा नागरिक उन्मुक्तिबाट एक मन्त्री छन् ।

५३ प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिममा सरकार बनाउन २७ सांसदको आवश्यकता पर्छ । नेपाली कांग्रेसका १८, नेकपा एमालेका ११ र नागरिक उन्मुक्तिका ७ सांसदको साथ मुख्यमन्त्री शाहलाई छ ।