अमेरिकामा बेपत्ता ममता काफ्लेका श्रीमान् पक्राउ

Image

अमेरिकाको भर्जिनियामा २३ दिनदेखि बेपत्ता ममता काफ्लेका श्रीमान् पक्राउ परेका छन् । भर्जिनिया राज्यको मनासस पार्कबाट २८ वर्षिय काफ्ले जुलाई ३१ तारेख (साउन १६) देखि बेपत्ता भएकी थिइन् । काभ्रेको पनौतीकी ममता श्रीमान नरेश भट्ट र १ बर्षकी छोरीका साथ बस्दै आएकी थिइन् ।

भर्जिनिया राज्यको मनासस पार्क प्रहरी विभागका अनुसार ममताका श्रीमानले अगस्ट ५ (साउन २१) मा मात्र आफ्नी पत्नी हराएको खबर प्रहरीमा दिएका थिए । त्यसअघि २ अगस्ट (साउन १८) मा ममता बस्ने घरमा पुगेको थियो । घरमै रहेका ममताका पति नरेश भट्टसँग प्रहरीले सोधपुछ गर्‍यो । उनले आफ्नी श्रीमती हराएको बारेमा प्रहरीमा रिपोर्ट गर्न चाहेनन् । उनले ममताको परिवार र अमेरिकामा नेपाली समुदायको दबाबपछि हराएको पाँच दिनपछि मात्रै प्रहरीमा रिर्पोट गरे । त्यसपछि मनासास पार्क प्रहरीले घटनाबारे तीव्र रूपमा अनुसन्धान थालेको हो ।

प्रहरीका अनुसार जुलाई २७ मा काफ्ले युभीए हेल्थ प्रिन्स विलियम मेडिकल सेन्टरमा देखिएकी थिइन् भने जुलाइ २८ मा साथीसँग कुरा गरेको थिइन् । जुलाई ३१ मा उनका श्रीमानले अन्तिमपटक देखेका थिए ।

खानतलासीका क्रममा भर्जिनिया राज्यको मनासस पार्कस्थित भट्टको घरमा पहेंलो टेप टाँसिएको छ भने मनासस पार्क र प्रिन्स विलियम काउन्टीका पुलिसका गाडी घरबाहिर पार्क गरिएको छ । उनको घरबाहिर १० वटाभन्दा बढी प्रहरीका कार राखिएको थियो । प्रहरीले अगस्त ५ देखि ममता काफ्लेको खोजी तीव्र पारेको जनाएको छ ।

घटनालाई लिएर बुधबार नयाँ मोड आएको थियो । बुधबार मनासस पार्क प्रहरी प्रमुख मारियो लुगोले स्थानीयको उपस्थितिमा पत्रकार सम्मेलन गर्दै ममताका पति भट्टले प्रहरी अनुसन्धानमा समन्वय नगरेको उल्लेख गरेका थिए भने उनी आज पक्राउ परेका छन् । नेपालको महेन्द्रनगरका भट्ट अमेरिकी आर्मी हुन् ।

ममता युभीए हेल्थ प्रिन्स विलियम मेडिकल सेन्टरमा नर्सको रुपमा कार्यरत थिइन । ममताको खोजीका लागि नेपाली समुदायले दबाब दिइरहेको छ । ममता हराएको १५ औं दिनमा नेपाली समुदायले प्रहरी कार्यालयको अगाडि धर्ना दिएको थियो ।

सामाजिक सञ्जालहरुमा पनि उनको खोजी गर्नुपर्ने र घटनाको छानबिन हुनुपर्ने भन्दै आवाज उठिरहेको छ । पक्राउ परेका नरेशमाथि थप अनुसन्धान हुँदैछ भने ममताबारे अहिलेसम्म केही जानकारी आएको छैन् ।