उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारीको बर्खास्तीको माग गर्दै पर्यटनमन्त्रीलाई ज्ञापन पत्र

राष्ट्रिय एकता अभियानले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई तत्काल बर्खास्त गर्न माग गरेको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको असफलता र निर्माणमा भएको भ्रष्टाचारप्रति कडा असन्तोष व्यक्त गर्दै राष्ट्रिय एकता अभियानले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पान्डेलाई ज्ञापन पत्र बुझाउँदै बर्खास्तको माग गरेको हो ।

राष्ट्रिय एकता अभियानका अध्यक्ष विनय यादवको नेतृत्वको टोलीले मन्त्री पाण्डेलाई बुझाइएको ज्ञापन पत्रमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणका क्रममा ठूला भ्रष्टाचार र प्रविधिक त्रुटिहरू भएको आरोप लगाउँदै अधिकारीको नेतृत्वमा भएको अनियमितता र असक्षमताले देशको प्रतिष्ठित परियोजनालाई गम्भीर संकटमा परेको दाबी गरिएको छ । विमानस्थल उद्घाटन भएको डेढ वर्ष बितिसक्दा पनि पूर्ण रूपमा संचालनमा आउन नसक्नुमा नागरिक उड्डयन प्राधिकरणको असक्षमता मुख्य कारक रहेको पत्रमा उल्लेख गरिएको छ ।

ज्ञापन पत्रमा भनिएको छ, ‘प्रदीप अधिकारीको नेतृत्वमा नागरिक उड्डयन प्राधिकरणले आफ्नो जिम्मेवारी पूरा गर्न असफल भएको छ । यस असक्षमता र भ्रष्टाचारको परिणामस्वरूप पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आजसम्म पनि अव्यवस्थित छ । यसले पर्यटन प्रवर्द्धन र आर्थिक विकासमा प्रत्यक्ष प्रभाव पारेको छ ।’ पत्रमा विमानस्थल निर्माणको समयमा ठेकेदार कम्पनीहरूसँग मिली कमिशनको लागि गुणस्तरहीन सामग्री प्रयोग गरिएको, सुरक्षा मापदण्डहरूको अवमूल्यन गरिएको र यी सबै अनियमितताहरूमा अधिकारीको प्रत्यक्ष संलग्नता रहेको ठहर गरिएको छ ।

अभियानले ठोस मागहरू राख्दै प्रदीप अधिकारीलाई तुरुन्त बर्खास्त गर्न जोडदार माग गरेको छ । अधिकारीले ठूला प्राविधिक त्रुटिहरू बेवास्ता गर्दै भ्रष्टाचारमा लिप्त भएको आरोपसमेत लगाउँदै छानविन प्रक्रिया पूरा नभएसम्म उनलाई कुनै पनि सरकारी पदमा राख्न प्रतिबन्ध लगाउन भनिएको छ ।