झापाबाट १३ करोडका अवैध सामान बरामद

Image

भन्सार छली भारतबाट भित्र्याइएका १३ करोड ७३ लाख ८९ हजार ३३ रुपैयाँ बराबरका बिलबिजक नभएका सामान प्रहरीले भन्सारबाट बरामद गरेको छ ।

झापाका प्रहरी प्रवक्ता कृष्णकुमार चन्दका अनुसार पछिल्लो तीन वर्षमा जिल्ला प्रहरी कार्यालय र मातहतका निकायबाट खटिएको गस्ती टोलीले उक्त मूल्य बराबरको सामान बरामद गरेको हो ।

गैरकानुनी ढंगले पैठारी गरिएका सामानका साथमा ३६ जनालाई पक्राउ गर्नुका साथै ६४ वटा विभिन्न सवारीसाधन पनि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रहरीले आव २०७८/७९ मा चार करोड पाँच लाख छ हजार १८१, आव २०७९/८० मा तीन करोड ९८ लाख ३६ हजार ३६४ र आव २०८०/८१ मा पाँच करोड ७० लाख ४६ हजार ४८८ रुपैयाँ बराबरको भन्सार छलीका सामान बरामद गरेको हो ।

प्रवक्ता चन्दका अनुसार प्रहरीले तीन वर्षमा एक करोड ७८ लाख ९७ हजार ८४६ मूल्यका चार हजार २८९.४१ क्यूबिक फिट अवैध काठ नियन्त्रणमा लिएको छ । प्रहरीले अवैध काठका साथमा ३८ जनालाई पक्राउ गर्नुका साथै ४९ वटा सवारीसाधनसमेत नियन्त्रणमा लिएको थियो ।

प्रहरीले आव २०७८/७९ मा एक हजार २६८ क्यूबिक फिट, आव २०७९/८० मा दुई हजार ४७२ क्यूबिक फिट र आव २०८०/८१ मा ५४९.४१ क्यूबिक फिट काठ नियन्त्रणमा लिएको थियो ।