काठमाडौंवासीले आज साँझदेखि मेलम्चीको पानी पाउने

मेलम्चीको पानी मंगलबार बेलुकासम्म काठमाडौंमा वितरण सुरु हुने भएको छ । वर्षायाम शुरु भएसँगै रोकिएको पानी आजदेखि पुनः काठमाडौं ल्याउन लागिएको हो ।

मेलम्ची खानेपानी विकास समितिका अनुसार अहिले सिन्धुपाल्चोकको हेलम्बुबाट पानी सुरुङमा पठाउन प्राविधिकहरूले मेसिनको सहायताले काम गरिरहेका छन् । खानेपानी सुरुङको मुखमा पठाउने काम भइरहेको छ ।

वर्षा सकिए पनि स्थानीय बासिन्दाको अवरोधका कारण पानी ल्याउन सकिएको थिएन । मेलम्ची सङ्घर्ष समितिसँग गएराति १० बजेसम्म भएको वार्तामा सहमति भएसँगै साँझदेखि पानी काठमाडौं ल्याउन लागेको खानेपानी मन्त्री प्रदीप यादवले जानकारी दिए ।

मेलम्चीको बाढीप्रभावितले राख्दै आएका माघ केही तत्काल पूरा गर्ने र केही दीर्घकालीन रूपमा गर्ने गरी सहमति भएको हेलम्बु गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पाले बताए ।

उनका अनुसार मेलम्ची खानेपानीको मुख्य आयोजना तथा भेलबाढी प्रभावित हेलम्बु गाउँपालिकाको प्रत्येक वडाको मूल सडक कालोपत्रेका लागि प्राथमिकतामा राखेर संघीय सरकार तथा प्रदेश सरकारको बजेट कार्यक्रममा समावेश गरी कार्यान्वयन गर्ने सहमति भएको छ ।

बाढीले बगाएका मेलम्चीको पुल, चनौटेको रातोपुल, कात्तिके, घट्टेखोला, हल्दे, तिम्बु, नाकोते, तालामाराङ भट्टार, गोरेखोला र सर्कथलीको पुल निर्माणका लागि पहल गर्ने सहमति भएको छ ।

त्यस्तै चिउरीखर्क, ओडारे, तिम्बु, ढोरोसिंह, थापाटार(भाङटार, महांकाल, तारूकेटार, ज्यामिरे, शेराचौकी, पाल्चोक शेरा र ग्याल्थुमबाट पाल्चोक गैरबेसी झोलुङ्गे पुल निर्माणका लागि विशेष पहल गरी बजेट व्यवस्था गर्ने सहमति भएको छ ।

२०७८ को बाढीपछि मेलम्चीको पानी निरन्तर वितरण हुन सकेको छैन । बाढीबाट मुहान र सुरुङ बचाउन हरेक बर्सातमा पानी बन्द गरिँदै आएको छ । गत असारमा बन्द भएको पानी अहिले पुनः सुरुङमा प्रवेश गराउन लागिएको हो ।

समितिका कार्यकारी निर्देशक रत्न लामिछानेका अनुसार अहिले काठमाडौंमा वितरण गरिएको बागमती मुहानको पानी बागमती खोलामा पठाएर मेलम्चीको पानी जोड्ने तयारी गरिएको छ । मेलम्चीको पानी बन्द भएपनि गत असारदेखि वितरण प्रणालीमा बागमतीको पानी पठाइएको थियो । गत असारमा बन्द गरेको २६ किलोमिटर सुरुङमा बर्सातका बेला पनि पानी भरिएरै बसेको थियो ।

त्यसैले कारण मुहानबाट पठाउने बितिक्कै सुन्दरीजल प्रशोधन केन्द्रबाट पानी काठमाडौंको थोक प्रणालीमा पठाउने लामिछानेले जानकारी दिए । सुरुङ खाली भएको अवस्थामा भने पूर्ण रुपमा भरिन १२ दिन लाग्ने प्राविधिकले जानकारी दिए ।