सार्वजनिक यातायात सञ्चालन गर्न माग गर्दै व्यवसायीहरूले बुझाए ज्ञापन पत्र

सार्वजनिक यातायात सञ्चालन गर्न माग गर्दै यातायात व्यवसायीहरूले सरकारसमक्ष ज्ञापन पत्र बुझाएका छन् ।

सोमबार सुन्दर यातायात प्रालिका अध्यक्ष भेष बहादुर थापाले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठलाई ज्ञापन पत्र बुझाउँदै सार्वजनिक यातायात सञ्चालन गर्न सहजीकरण गर्न माग गरेका हुन् ।

लामो समयसम्मको निषेधाज्ञाले यातायात व्यवसायी तथा श्रमिकहरू प्रत्यक्ष मारमा रहेकाले निश्चित स्वास्थ्य मापदण्ड पालना गरी तत्काल सार्वजनिक यातायात सञ्चालनमा सहजीकरण हुनुपर्ने उनले बताए ।

लामो समयसम्म सार्वजनिक यातायात सञ्चालन नभए यसले देशको अर्थतन्त्रमा समेत सङ्कट पर्ने उनको भनाई छ । उनले उच्च सतर्कता अपनाई सार्वजनिक यातायात सञ्चालन गर्ने कुरामा कुनै दुबिधा नराख्न पनि आग्रह गरेका छन् ।

ज्ञापन पत्र बुझ्दै सचिव श्रेष्ठले अब कोरोना सङ्क्रमण घट्दै गएपछि सार्वजनिक यातायात पनि खुलाउने विश्वास दिलाए । उनले यातायात व्यवसायीको मागका बारेमा सिसिएमसी लगायत सम्बन्धित निकायमा कुरा राख्ने प्रतिवद्धता जनाएका छन् ।

यसअघि उपत्यकाका प्रशासन कार्यालयले मंगलबारबाट उपत्यकामा जोरबिजोर प्रणालीका आधारमा निजी सवारीसाधन सञ्चालन गर्ने निर्णय गरेपछि व्यवसायीहरूले पनि सार्वजनिक यातायात खोल्नुपर्ने माग गरेका हुन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार