औषधि खरिदमा भ्रष्टाचार, तत्कालीन प्रशासकीय प्रमुखसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा

Image

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको धनगढीमाई नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत गोपालप्रसाद बगालेसहित पाँचजना र एउटा कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

उनीहरूले औषधि खरिद प्रक्रियामा चार लाख ६० हजार ८१० रुपैयाँ भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले विशेष अदालत काठमाडौंमा बिहीबार मुद्दा दायर गरेको हो ।

मुद्दामा बगालेसँगै तत्कालीन लेखा अधिकृत पुरुषोत्तमकुमार प्रसाद, स्वास्थ्य शाखा प्रमुख सुरैत चौधरी, जिन्सी शाखा प्रमुख सम्पैत यादव, हेल्पिङ्ग मल्टीपर्पोज प्रालि (मैतीदेवी, काठमाडौं) र उक्त फर्मका निर्देशक माधव प्रसाद गौतमलाई प्रतिवादी बनाइएको छ ।

आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार प्रतिवादीहरूमाथि जनही ४ लाख ६० हजार ८१० रुपैयाँ बिगो कायम गरी बिहीबार विशेष अदालतमा मुद्दा दायर गरिएको हो ।

आर्थिक वर्ष २०७८/७९ मा आधारभूत तथा आकस्मिक स्वास्थ्य सेवाका औषधि खरिदका क्रममा अनियमितता भएको बताइएको छ । नेपाल सरकारको सस्शर्त अनुदान शीर्षकबाट विनियोजित रकममध्ये १७ प्रकारका औषधिहरू पत्रिकामा प्रकाशित मूल्यभन्दा बढीमा खरिद गरिएको र ५ प्रकारका औषधि पत्रिकामा उल्लेखित मूल्यसूचीभन्दा बाहिरबाट खरिद गरिएको अभियोग लगाइएको छ ।

आयोगले औषधि खरिद प्रक्रिया र मूल्य निर्धारणमा गरिएको गम्भीर त्रुटिका कारण भ्रष्टाचार मुद्दा चलाएको हो ।