यूएई हुँदै कुवेत पुर्याएर दुई महिलालाई बेचबिखन गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले उनीहरूलाई देशका विभिन्न जिल्लाबाट पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा उदयपुरको उदयपुरगढी गाउँपालिका-७ का ५७ वर्षीय चन्द्रबहादुर आले मगर, मोरङको बेलबारी नगरपालिका-१ का ५१ वर्षीय पुष्प विक भन्ने पुष्प सुनार, सिन्धुपाल्चोको जुगल गाउँपालिका-६ का २६ वर्षीय धर्म तामाङ र सिन्धुपाल्चोको जुगल गाउँपालिका-६ का ३९ वर्षीय माईला लामा पाख्रिन भन्ने टिकाराम तामाङ रहेका छन् ।
पक्राउ परेकामध्ये आले र सुनारले एक महिलालाई गत भदौ ३ गते त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल हुँदै दुबई पुर्याई दुबईबाट कुवेतको महिला एजेन्टको फ्ल्याटमा पुर्याएर बेचबिखन गरेको खुल्न आएको ब्यूरोका प्रवक्ता, एसपी भावेष रिमालले जानकारी दिए ।
कुवेतमा रहेकी महिला एजेन्टले कुवेतस्थित जाहरा सहरमा रहेको घरेलु कामको लागि पठाई घर मालिकले घरेलु काममा लगाई चरम श्रम शोषण, यौन शोषण गरी राखेको पाइएको छ ।
त्यसपछि ती महिलाको स्वास्थ्यमा समस्या आई नेपाल फर्किनका लागि घर मालिकलाई आग्रह गर्दा घर मालिकले तीन लाखमा किनेको हो रकम फिर्ता नगरेसम्म जान नदिने भनेपछि ब्यूरोको पहलमा नेपाल फर्किएर आले र सुनारविरुद्ध जाहेरी दिएकी थिइन् ।
यस्तै, तामाङद्वयले फ्री भिसा फ्री टिकटमा राम्रो आम्दानी हुने भन्दै दुबई भनेर कुवेत पुर्याएर एक महिलालाई बेचबिखन गरेको आरोप छ । ती महिलालाई ४ साउन २०८० मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबई पुर्याइएको र त्यसको भोलिपल्ट त्यहाँबाट कुवेतको अलजारा भन्ने ठाउँमा पुर्याइएको थियो ।
कुवेती नागरिकले घरेलु काममा लगाई यौन शोषण गर्ने र यातना समेत दिने गरेको पीडितले प्रहरी समक्ष बताएकी छिन् ।
कुवेती नागरिकको घरबाट भागेर उनी प्रहरीको सम्पर्कमा पुगेकी थिइन् । त्यसपछि उनी ४ मंसिर २०८० मा नेपाल फर्केर प्रहरीमा जाहेरी दिएकी थिइन् ।













