लेखा समिति सभापतिका स्वकीय सचिव पोखरेलविरुद्ध पक्राउ पुर्जी जारी

Image

सार्वजनिक लेखा समितिका सभापति एवम् नेकपा एमालेका नेता ऋषिकेश पोखरेलका स्वकीय अनिल कुमार पोखरेलविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

ठगी गरी अपराधिक लाभ लिएको मुद्दामा पोखरेललाई सोमबार पक्राउ गरी अनुसन्धान गर्न मोरङ अदालतले अनुमति दिएको मोरङ अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले बताए ।

अनिलमाथि एमबीबीएसमा नाम निकालिदिने भन्दै ३८ लाख ८० हजार रुपैयाँ ठगी गरेको आरोप छ । प्रहरीले उनलाई पक्राउ गर्न अदालतसमक्ष अनुमति मागेको थियो । फेसबुक समेत लक गरी बसेका उनी हाल फरार छन् । केहीअघिसम्म उनी काठमाडौंमा थिए ।

एमबीबीएसको प्रवेश परीक्षामा नाम निकालिदिने भन्दै मोरङको रंगेली नगरपालिका २ बस्ने अनिलले सप्तरीका बौआलाल चौधरीबाट ३८ लाख रुपैयाँ लिएको आरोप छ । नाम निकालिदिने भन्दै २०७१ देखि ०७३ का बीचमा पटक पटक गरेर ३८ लाख ८० हजार रुपैयाँ चेकमार्फत अनिलले बुझेका थिए ।