चितवन राष्ट्रिय निकुञ्जबाट गाउँ पसेको जंगली हात्तीले पर्साको ठोरीमा आतंक मच्चाएको छ ।
साँझ पर्ने बित्तिकै गाउँ पस्ने गरेको हात्तीले घर भत्काउँदै भण्डारण गरी राखेको अन्न खाइदिनुका साथै छरेर नष्ट गरेपछि स्थानी आतंकित बनेको ठोरी गाउँपालिका(२ का अध्यक्ष अमृतकृष्ण सापकोटाले जानकारी दिए ।
बुधबार बिहान ३ बजेतिर जंगलबाट गाउँ छिरेको हात्तीले ठोरी गाउँपालिका- २ गौतमनगरका चेतबहादुर बस्नेतको घरको बार भत्काएर भकारीमा राखिएको १२ मुरी भन्दा बढी धान खाइदिएको छ।
त्यस्तै, गौतमनगरकै काजी प्याकुरेलको घर पनि हात्तीले भत्काइदिएको छ । घरमा राखिएको धान खाइदिएको वडाध्यक्ष सापकोटाले जानकारी दिए । त्यहि हात्तीले गौतमनगरकै सीता गौतमको घरको बार पनि भत्काइ दिएको उनले बताए ।
घरमा धान खाइ रहेको अवस्थामा गाउँलेहरूले होहल्ला गरी भगाएको गौतमनगरका स्थानीय जगन्नाथ बस्नेतले जानकारी दिए । स्थानीयहरूले हल्लागरी भगाएको हात्ती इच्छानगरमा पसेको थियो । गौतमनगरबाट धपाइएको हात्ती इच्छानगरमा पसेर बिहान ११ बजेसम्म मानवबस्तीमै डुलेको थियो । जसका कारण स्थानीय आतंकीत बनेका थिए ।
गाउँ पसेको हात्तीबाट बच्नका लागि नेपाली सेनाको टोलीले इच्छानगर क्षेत्रमा सर्वसाधारणलाई हिँड्डुल गर्न रोक लगाएको उनले बताए ।
















