क्रिप्टो कारोबारबाट ३ अर्ब बढी ठगी गरेको आरोपमा ७ जना पक्राउ

अभौतिक मुद्रा क्रिप्टो कारोबारबाट ३ अर्ब बढी ठगी गरेको आरोपमा ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

विभिन्न व्यक्तिलाई संगठित रूपमा परिचालन गरी विभिन्न माध्यमबाट ठगी गरेको आरोपमा ७ जना व्यक्तिलाई नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको हो ।

सीआईबीका अनुसार पक्राउ पर्नेमा कैलाली घर भई हाल बूढानीलकण्ठ बस्ने २२ वर्षीय माइकल डगौरा, कैलाली घर भई सोही ठाउँ बस्ने २६ वर्षीय अनिल विश्वकर्मा, बूढानीलकण्ठका २१ वर्षीय पियुष श्रेष्ठ, दोलखा घर भई हाल काठमाडौंको कागेश्वरी मनोहरा बस्ने १९ वर्षीय आश्विन चौलागाइँ, रौतहट घर भई बानेश्वर बस्ने २२ वर्षीय सत्यमकुमार सहनी, भारत बिहार घर भई बानेश्वर बस्ने रोशन कुमार र विहार घर भई काठमाडौं बस्ने ३६ वर्षीय मुन्ना कुमार रहेका छन् ।

उनीहरूलाई विशेष सूचनाको आधारमा केन्द्रीय अनुसन्धान ब्युरोबाट खटिएको टोलीले पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका व्यक्तिहरूले संगठित रूपमा परिचालन गरी ठगी तथा अभौतिक मुद्राको कारोबार गरेको, विभिन्न बैंकका वालेटमा पहुँच पुर्‍याइ रक ठगी गरेको, विभिन्न विज्ञापनहरूबाट साइबर फिसिङ गरेको, हुन्डी कारोबार गरेको लगायतका गैर कानुनी कारोबार गरेको आरोप प्रहरीले लगाएको छ ।

सीआईबीका प्रवक्ता एसपी सुधिरराज शाहीका अनुसार पक्राउ परेकाहरूको साथबाट २ थान कम्प्युटर, १३ थान मोबाइल सेट, विभिन्न बैंकको नाममा जारी भएका चेक १९ थान र नगद ५ लाख ५० हजार रूपैयाँ बरामद गरिएको छ । प्रहरीले हालसम्मको डिजिटल फरेन्सिक रिपोर्टबाट सो समूहले ३ अर्ब बढी ठगी गरेको जनाएको छ ।