रवीन्द्र र धवलसहित ४१ जनालाई ६ दिन हिरासतमा राख्न म्याद थप

Image

राजावादी आन्दोलनमा हिंसात्मक गतिविधि गरेको आरोपमा पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवल शमशेर राणालाई थप ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा रहेका ४१ जनालाई काठमाडौं जिल्ला अदालतमा म्याद थपका लागि बुधबार उपस्थित गराइएको थियो । उनीहरूलाई थप ६ दिन हिरासतमै राखेर अनुसन्धान गर्न म्याद थप भएको अदालत स्रोतले जानकारी दियो ।

यसअघि चैत १७ गते अदालतले पक्राउ परेका सबैलाई अदालतले ५ दिन म्याद थप गरेको थियो । उनीहरूमाथि आपराधिक उपद्रव र संगठित अपराधको कसुरमा मुद्दा चलाउने गरी प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

उनीहरूलाई शुक्रबार प्रहरीले पक्राउ गरेको थियो । पाँच दिनको म्याद मंगलबार सकिएकाले उनीहरुलाई आज दोस्रो पटक म्याद थप गर्न लगिएको हो ।

यस्तै, मिश्र र राणासहित ११ जनालाई राज्यविरुद्धको कसुरमा पनि अनुसन्धान गरिने काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी अपिलराज बोहराले बताएका छन् ।