दैलेखको ठाटीकाँध गाउँपालिका–१ सिराडी ग्वालिपिन्नबाट गएराति अपहरणमा परेकी स्थानीय बमबहादुर बुढाकी तीन महिने छोरी श्रीया भेटिएकी छिन् ।
नाबालिका अपहरणको आरोपमा १८ वर्षीया किशोरीलाई नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ । स्थानीय चामुण्डाविन्द्रासैनी नगरपालिका–३ को लामिडाँडा जंगल क्षेत्रमा बच्चा बोकेर भाग्दै गरेकी ती किशोरीलाई नियन्त्रणमा लिइएको छ । प्रहरीका अनुसार पक्राउ परेकी किशोरी सोही गाउँपालिकामा पर्ने सिरवलकी शर्मिला विष्ट हुन् ।
बिहीबार राति ९ बजेतिर घरबाटै श्रीया हराएकी थिइन् । दैलेखका प्रहरी प्रवक्ता एवं प्रहरी निरीक्षक लालबहादुर सुनारका अनुसार घरबाटै नाबालिका हराएको सूचनापछि प्रहरी खोजी कार्यमा लागेको थियो ।
शुक्रबार बिहान मात्रै बालिकासहित एक किशोरीलाई नियन्त्रणमा लिइएको उनले बताए । बच्चा समातेर जंगलमा हिँडिरहेको अवस्थामा स्थानीयले बिहान किशोरीलाई देखेपछि प्रहरीलाई सूचना दिएका थिए । त्यसपछि प्रहरी पुगेर सकुशल बच्चाको उद्धार गरी किशोरीलाई नियन्त्रणमा लिएको हो ।
गएराति ९ बजेतिर घरका सबै सुतेपछि घर पछाडि राखिएको खरमा आगो लगाएर षड्यन्त्रपूर्ण रुपमा बालिकाको अपहरण गरिएको अभिभावकको भनाई छ ।
खरमा आगो लागेको विषय बमबहादुरको परिवारलाई माथिल्लो घरबाट खबर भएको थियो । त्यसपछि बमबहादुरका श्रीमान–श्रीमती छोराछोरीलाई सुतिरहेकै ठाउँमा छाडेर आगो निभाउन गएपछि अपहरणकारीले बालिकालाई लिएर गएका पाइएको छ ।












