अनलाइन भुक्तानी प्लेटफर्म ई-सेवाबाट एक करोड रुपैयाँभन्दा बढी रकम चोरी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।
कञ्चनपुरको कृष्णपुर १ स्थायी घर भइ काठमाडौँको अनामनगर बस्दै आएका २२ वर्षीय राहुल बुढालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो । उनले विभिन्न फिसिङ लिंकहरू पठाएर ४ हजार व्यक्तिको ई-सेवा अकाउन्टबाट १ करोड २ लाख रुपैयाँ चोरी गरेको पाइएको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता अंगुर जिसीले बताए ।
प्रहरीका अनुसार राहुलले विभिन्न व्यक्तिहरूलाई एसएमएसमार्फत ‘द अलर्ट, एटी अलर्ट’ जस्ता फिसिङ लिङ्क पठाई तपाईंको खाता सस्पेन्ड हुन लागेको भनी चेतावनी दिई भेरिफाईको लागि लिंक खोल्न लगाएर इसेवामा अनाधिकृत पहुँच पुर्याउने गरेका थिए ।
उक्त रकम उनले पशुपति ग्लोबल इनोभेशन प्रालिको मर्चेन्ट खाताहरुमा जम्मा गरेको पाइएको छ । उनलाई कालीमाटीबाट पक्राउ गरी आवश्यक अनुसन्धान र कारबाहीका लागि जिल्ला प्रहरी परिसर, भद्रकाली पठाइएको प्रवक्ता जिसीले बताए ।













