नेपाल सरकारको उपसचिव हुँ भनी ठगी गर्ने महिलालाई प्रहरीले सोमबार पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा दैलेखको दुनेचौर गाउँपालिका वडा नम्बर ५ घर भई हाल ललितपुर महानगरपालिका वडा नम्बर २५ बस्ने ४० वर्षीया जानकी न्यौपाने रहेकी छन् ।
न्यौपानेले पीडितहरूलाई आफू हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत रहेको बताउँदै विमानस्थलमा हुने विभिन्न ठेक्कामा काम दिलाइदिने प्रलोभन दिएकी थिइन् ।
सोही बहानामा उनले राजस्व र धरौटी रकमको नाममा एक जना पीडितबाट ७ लाख ६० हजार ८ सय असुलेकी थिइन् ।
त्यस्तै, अन्य दुई व्यक्तिलाई पनि अनुदान तथा ठेक्का दिलाइदिने भन्दै रकम लिइसकेकी थिइन् भने बाँकी रकम माग्दै गर्दा प्रहरीको निगरानीमा परेकी हुन् ।
महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले काठमाडौं महानगरपालिका–११, त्रिपुरेश्वरबाट उनलाई पक्राउ गरी ठगी सम्बन्धी कसुरमा आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर, ललितपुर पठाएको जनाएको छ ।













