कैलालीबाट हतकडीसहित फरार भएकी थुनुवा महिला भारतमा पक्राउ परेकी छन् ।
मानव बेचबिखन मुद्दामा पक्राउ परेर म्याद थपका लागि जिल्ला सरकारी वकिलको कार्यालय लगेको समयमा त्यहीँबाट फरार भएकी ५० वर्षीय मीना शाही दमाइलाई भारतको पलियाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका एसपी पदमबहादुर विष्टका अनुसार भारतको पलियामा लुकेको अवस्थामा उनलाई पक्राउ गरिएको हो ।
हतकडीसहित थुनुवा भागेको घटनामा दुई जना प्रहरीलाई कारवाही गरिएको छ ।
दमाइलाई म्याद थपका लागि लगेका प्रहरी सहायक हवल्दार चक्र अधिकारी र प्रहरी जवान लोकराज जोशीलाई निलम्बन गरिएको एसपी बिष्टले बताए ।
अभियुक्त शाहीलाई इलाका प्रहरी कार्यालय टीकापुरले मानव बेचबिखन मुद्दा चलाएको थियो । वैशाख ४ गते पक्राउ परेकी उनी जिल्ला प्रहरी कार्यालयको हिरासतमा थिइन् ।
अनुसन्धान गर्न पहिलोपटक ५ गते १० दिनको म्याद थप गरिएको थियो । दोस्रो पटक म्याद थपका लागि सरकारी वकिल कार्यालय पु-याइएकी मिना फरार भएकी थिइन् । उनीमाथि आफन्त नाता पर्ने बालिकालाई भारतमा बेचबिखन गरेको अभियोग छ ।
कैलालीमा एक थुनुवा महिला हतकडीसहित फरार













