अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको धनकौल गाउँपालिका–६ स्थित कृषि बाटो निर्माण गर्दा भ्रष्टाचार भएको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
अख्तियारले धनकौल गाउँपालिकाका तत्कालीन प्रशासकीय अधिकृत कृष्णमोहन प्रसाद साह, ६ नम्बर वडाका अध्यक्ष, पालिकाका इन्जिनियर, वडा अध्यक्षसहित ९ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको हो ।
सडक निर्माणक्रममा झुटा भर्पाइ बनाउँदै सात लाख ७९ हजार २०५ रुपैयाँ भ्रष्टाचार गरिएको ठहरसहित मुद्दा चलाइएको हो ।
अख्तियारले कृष्णमोहनसहित इन्जिनियर उपेन्द्रप्रसाद साह, सहायक पाँचौँ मोहम्मद रफिक र सबइन्जिनियर शशिरन्जनकुमार सिंह, लेखापाल अभयकुमार साह, उपभोक्ता समितिका अध्यक्ष वोपेन्द्र राय, सचिव इनरजित साह कानू र कोषाध्यक्ष सुरतीया कुमारी, वडा नम्बर–६ का वडाध्यक्ष श्यामबाबु साहलाई अभियुक्त बनाएको छ । अभियुक्तलाई कैद र जरिवानाको मागदाबी गरिएको छ ।
अख्तियारको दाबीअनुसार, उनीहरूले कृषि बाटो निर्माण योजनामा मिलेमतो गरी तोकिएको सर्त–सम्झौताविपरीत फिल्डमा भएको वास्तविक कार्यभन्दा बढी काम भएको प्रतिवेदन बनाउँदै भ्रष्टाचार गरेका हुन् ।















