काठमाडौंको परोपकार पुलमुनि भएको हत्या अभियोगमा एक पक्राउ

Image

काठमाडौंको परोपकार पुलमुनि धारिलो हतियार प्रयोग गरी हत्या गरेको अभियोगमा एकजनालाई पक्राउ गरी आज सार्वजनिक गरिएको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका प्रहरी उपरीक्षक अङ्गुर जिसीले सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी–७ घर भई हाल काठमाडौं महानगरपालिका–५ डल्लु बस्ने ३२ वर्षीय आशिष श्रेष्ठलाई पक्राउ गरिएको जानकारी दिए ।

वैशाख १६ गते धारिलो हतियार प्रहारबाट घाइते अवस्थामा फेला परेका काभ्रेपलाञ्चोक भुम्लु गाउँपालिका–१० का अन्दाजी ४२/४३ वर्षीय माइला भन्ने विक्रम तामाङको मृत्यु भएको घटनामा श्रेष्ठलाई हत्याको अभियोगमा पक्राउ गरिएको उनले बताए ।

घाइते अवस्थामा भेटिएका तामाङलाई उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर लगिएकोमा सोही दिन मृत्यु भएको थियो । अनुसन्धानका क्रममा श्रेष्ठले घटना घटाएको खुल्न आएपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

श्रेष्ठका साथबाट घटनामा प्रयोग भएको चक्कु, सामसुङको मोबाइल एक थान, घटना हुँदा प्रयोग भएको झोला, सर्ट, पाइन्ट, जुत्ता र कपडाको मास्क बरामद गरिएको प्रहरी उपरीक्षक जिसीले जानकारी दिए ।

श्रेष्ठलाई ज्यानसम्बन्धी कसुरमा आवश्यक कारबाहीका लागि प्रहरी वृत्त जनसेवा पठाइएको उनले बताए ।