श्रीमतीको हत्या गर्न सुपारी दिएका व्यक्तिबाटै मारिए चुडामणि

Image

धादिङको गजुरी गाउँपालिका–२ डुँडेठाटीमा गत चैत्र २७ गते मृत भेटिएका चुडामणि कँडेलको हत्या भएको खुलेको छ ।

आफ्नै घरको भुँइतलामा घाँटीमा डोरी कसिएको अवस्थामा मृत भेटिएका ६० वर्षीय कँडेललाई श्रीमती हत्याका लागि ‘सुपारी’ दिएका व्यक्तिले नै हत्या गरेको प्रहरी अनुसन्धानमा खुलेको हो ।

कँडेलले मकवानपुरको राक्सिराङ गाउँपालिका–९ स्थायी घर भइ हाल गजुरी गाउँपालिका–२ ठुटेपानी बस्ने ३६ वर्षीय अक्कल बहादुर प्रजालाई श्रीमती सुस्मिता सिलवालको हत्याको लागि चार लाख रुपैयाँ दिएको खुलेको छ । जिल्ला प्रहरी कार्यालय, धादिङका एसपी दिपेन्द्र शाही उनीहरूले पहिले कँडेलको श्रीमतीको हत्याका लागि रकम लिएको तर, सफल नभएपछि उनकै हत्या गरेको खुलेको बताए ।

प्रजा राक्सिराङकै २५ वर्षीय पृथलाल थिङ र २७ वर्षीय सञ्चलाल मुक्तानको साहारा लिएर सुस्मिताको हत्या गर्न खटिएका थिए । तर पटकरपटकको प्रयासमा पनि सुस्मिताको हत्या गर्न नसकेको र चुडामणिले दबाव दिइरहेका कारण उनकै हत्या गरेको अभियुक्तहरूले बयान दिएको एसपी शाहीले बताए ।

‘पैसा लिएर खर्च गरिसकेका अभियुक्तहरूले सुस्मिताको हत्या गर्न त सकेनन् नै, पैसा पनि फिर्ता नदिएपछि चुडामणिकै हत्या गर्ने योजना बनाएछन्’ शाहीले भने, ‘त्यसपछि चैत २४ गते राति चुडामणि घरभित्रै भएका बेला कोदालोको बीँडले हानेर हत्या गरेको देखिएको छ ।’

त्यतिबेला उनीहरूले चुडामणिको घाँटीमा डोरी समेत कसेका थिए । त्यसपछि तिनै जना पृथ्वी राजमार्ग हुँदै भागेको खुलेको थियो ।

अनुसन्धानका क्रममा मृतक कँडेल र उनकी पत्नी सुस्मिताबीच सुमधुर सम्बन्ध नरहेको खुलेको थियो । प्रायः उनी सीतापाइलाको घरतिर गएर बस्थिन्, एकैघरमा हुँदा पनि बोलचाल हुन्थेन । सोही कारण स्थानीयले श्रीमतिमाथि पनि अनुसन्धान गर्न भनेका थिए । तर उनी कँडेल मारिनु दुईसाता अघि मात्र गाउँमा आएर १० दिन बसेर घटना भएकै दिन फर्किएको अनुसन्धानमा भेटिएको थियो ।

प्रहरीले प्रजालाई यही वैशाख ३ गते ठुटेपानीबाटै पक्राउ गरिएको थियो भने थिङ र मुक्तानलाई मकवानपुरको मनहरी गाउँपालिका–७ बाट १६ गते दिउँसो पक्राउ गरी जिल्ला प्रहरी कार्यालय धादिङमा उपस्थित गराएको थियो ।

उनीहरूको साथबाट १ लाख रुपैयाँ बरामद गरिएको छ भने मृतकको पैसाबाट किनिएको कपडा, जुत्ताहरू समेत बरामद गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका उनीहरूलाई जिल्ला अदालत धादिङबाट ज्यान सम्बन्धी कसुरमा म्याद थप गरी अनुसन्धान गरिरहेको छ ।