काठमाडौंको बागबजारमा एक युवतीको बलात्कारपछि हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धादिङको गल्छी गाउँपालिका घर भइ काभ्रेस्थली बस्ने ४० वर्षीय रामचन्द्र पन्त रहेको प्रहरीले जनाएको छ । उनी भारतीय भूपू सैनिक रहेको खुलेको छ ।
घटना गत चैत २९ गतेको रहेको प्रहरीले जनाएको छ । पन्तलाई भने मंगलबार मात्रै प्रहरीले पक्राउ गरेको हो । उनी पक्राउ परेपछि घटना सार्वजनिक भएको हो । घटनापछि पन्त भारत फरार भएको र नेपाल फर्कँदै गरेको सूचना पश्चात् मंगलबार दिउँसो नागढुङ्गाबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँ एसपी तथा प्रवक्ता अपिलराज बोहराले बताए ।
मृत भेटिने युवती नुवाकोटको सूर्यगढी नगरपालिका १ घर भइ हाल काठमाडौँको तार्केश्वर नगरपालिका २ काभ्रेस्थली बस्ने २८ वर्षकी विमला तामाङ रहेको प्रहरीले जनाएको छ ।
युवतीको पोष्टमार्टममा बलात्कारपछि हत्या भएको रिपोर्ट आएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार युवतीसँगै कोठामा रहेका पन्त फरार थिए ।














