अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेश प्रदेश सरकारका पूर्वमन्त्री विजय कुमार, बागमती नगरपालिकाका तत्कालीन नगरप्रमुख भरतकुमार थापा, उपप्रमुख लीलाकुमारी मुक्तानसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । विजय कुमार पूर्व आर्थिक मामिला तथा योजना मन्त्री हुन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरुविरुद्ध सार्वजनिक सम्पत्ति हिनामिना, हानिनोक्सानी र दुरुपयोग गरेको अभियोग लगाउँदै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
सागरनाथ वन विकास परियोजनाको वन क्षेत्र अतिक्रमण गरी ढुंगा, गिटी, बालुवा, माटोजस्ता वन पैदावार गैरकानुनी रुपमा उत्खनन गरी बनेको खाल्डोमा माछापोखरी (भरत ताल) निर्माणको नाममा भ्रष्टाचार गरेको अख्तियारको अभियोग छ । संघीय सरकार, प्रदेश सरकारसमेतको करोडौं रकमबाट गैरकानुनी तवरमा पोखरी समेतका संरचना निर्माण गरी सरकारी सम्पत्ति हानिनोक्सानि गरेको अभियोगपत्रमा उल्लेख छ ।
आयोगका अनुसार आरोपपत्र दायर गरिएकाहरुमा पूर्वमन्त्री विजय कुमार, तत्कालीन नगरप्रमुख (हाल निलम्बित) भरत कुमार थापा, बागमती नगरपालिका सर्लाहीका तत्कालीन नगर प्रमुख (हाल निलम्बित) लीलाकुमारी मुक्तानविरुद्ध आरोपपत्र दायर गरिएको छ ।
त्यसैगरी बागमती नगरपालिकाकै तत्कालीन प्रमुख प्रशासकीय अधिकृत (हाल निलम्बित) विमल कुमार पोखरेल, मधेश प्रदेश सरकार अर्थ मन्त्रालयका तत्कालीन कानुन अधिकृत गोकुल भुजेल, बागमती नगरपालिका सर्लाहीका तत्कालीन इन्जिनियर निरञ्जन लामिछाने, बागमती नगरपालिकाका तत्कालीन इन्जिनियर (हाल निलम्बित) सागर पौडेल र बागमती नगरपालिका सर्लाहीका तत्कालीन लेखा अधिकृत (हाल निलम्बित) विश्वराज पोखरेलविरुद्ध पनि आरोपपत्र दायर भएको छ ।
आयोगले उनीहरुविरुद्ध ५६ करोड ७१ लाख ७ हजार २९२ रुपैयाँ हानिनोक्सानी र दुरुपयोग गरे गराएको ठहर गर्दै सोही बमोजिमको सजायको मागदाबी गर्दै आज विशेष अदालतमा मुद्दा दायर गरिएको जनाएको छ । तर आरोपितहरुमाथिको विगो मागदावी भने फरक–फरक छ ।
पूर्वमन्त्री विजयकुमारमाथि ३० करोड रुपैयाँ भ्रष्टाचार गरेको अभियोग छ । निलम्बित मेयर थापा र उपमेयर मोक्तान, प्रमुख प्रशासकीय अधिकृत पोखरेलमाथि पुरै ५६ करोड ७१ लाख रुपैयाँ विगो मागदावी छ ।
रोडाढुंगा उत्खनन गरेको खाल्डोमा माछापोखरी निर्माण गराई भ्रष्टाचार गरेको भन्दै अख्तियारले त्यही ठाउँमा संरचना निर्माण गराउनु राज्यकोषको दुरुपयोग र हिनामिना हुने जिकिर गरेको हो ।













