सर्लाहीका एक सुन व्यवसायीले आफ्नो पसलमा गहना नकिनेको भन्दै स्थानीयलाई सुँगुरको खोरमा थुनेर यातना दिएका छन् । पर्सा गाउँपालिका–५ निवासी तस्लिम अन्सारीलाई सोही ठाउँका सुन व्यवसायी राजेन्द्र साह सुनार र उनका छोरा कमलेशलगायतको समूहले सुँगुरको खोरमा थुनेर यातना दिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी सरोज राईले जानकारी दिए।
डीएसपी राईका अनुसार गत शनिबार तस्लिम अन्सारी छोरीको विवाहको तयारीका लागि आवश्यक सामग्री किन्न भारत जान लागेका थिए। तर, सोही क्रममा साह समूहले बाटोमै उनलाई नियन्त्रणमा लिई सुँगुरको खोरमा थुनेर शारीरिक र मानसिक यातना दिएको अनुसन्धानबाट खुलेको छ।
सुन पसले राजेन्द्र साह सुनारले अन्सारीलाई आफ्नो पसलमा गहना किन्नको लागि विभिन्न ढंगले दबाब दिँदै आएको प्रहरी अनुसन्धानबाट खुलेको छ। त्यसलाई लिएर गाउँमै छलफलसमेत भएको थियो। छलफलका क्रममा अन्सारी र उनका दाजु दिल महमद अन्सारीले राजेन्द्र साहलाई थप्पड हानेको भन्दै साह पक्षले बदला लिएको डीएसपी राईले बताए।
डीएसपी राईका अनुसार यही जेठ ८ गते छोरीको विवाहको तयारीमा रहेका तस्लिमले साहको पसलमा गहना नकिनेको निहुँमा घटना भएको हो।
घटनामा संलग्न दुवै पक्षका ६ जना पक्राउ परेका छन्। सुँगुरको खोरमा थुनेर अन्सारीलाई यातना दिने राजेन्द्र, उनका छोरा कमलेश, छोराका साथीहरु पप्पुकमार यादव र राहुलकुमार महतोलाई पनि प्रहरीले पक्राउ गरेको छ। त्यसैगरि छलफलमा बसेको बेला राजेन्द्रलाई थप्पड लगाएको आरोपमा तस्लिम र उनका दाजु दिल महमदलाई पनि पक्राउ गरिएको छ ।
घटनाको भिडियोसमेत खिचेर सामाजिक सञ्जालमा पोस्ट गरिएको पाइएको छ। घटनासम्बन्धी दुवै पक्षले एकअर्काविरुद्ध प्रहरीमा उजुरी दिएका छन्। अन्सारी पक्षले ‘अधर्म र अमानवीय व्यवहार’ अन्तर्गत उजुरी दर्ता गराएको छ भने साह पक्षले ‘अभद्र व्यवहार’ सम्बन्धी कसुरमा उजुरी दिएका छन्।
यस घटनाले अन्सारी परिवारमा छोरीको विवाहको तयारीमा ठूलो असर परेको छ।













