काठमाडौंको बल्खु क्षेत्रमा लागुऔषध कारोबार भइरहेको भन्ने सूचनाका आधारमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ ।
कालीमाटी वृत्तबाट खटिएको प्रहरी टोलीले शुरूमा बल्खुस्थित सडक खण्डमा शंकास्पद रूपमा हिँडिरहेका एक युवालाई नियन्त्रणमा लिएको थियो । उनीसँग प्रारम्भिक सोधपुछपछि थप ३ जनाको पहिचान गरी नियन्त्रणमा लिइएको हो ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा सिन्धुलीको गोलञ्जोर गाउँपालिका–२ घर भई हाल काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–४ मा बसोबास गर्दै आएका २४ वर्षीय होमराज श्रेष्ठ, काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–२ घर भई हाल काठमाडौंको टेकु बस्दै आएका २३ वर्षीय रविन श्रेष्ठ, नुवाकोटको तारकेश्वर गाउँपालिका–४ का २१ वर्षीय सुरेन्द्र अछामी र धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–४ का २५ वर्षीय विजय आले मगर रहेका छन् ।
पक्राउ परेकाहरूको साथबाट लागुऔषध ट्रामाडोलका १०६७ क्याप्सुल, नगद १९ हजार ५०० रुपैयाँ र विभिन्न कम्पनीका ६ थान मोबाइल फोन बरामद गरिएको छ ।
उनीहरूलाई लागुऔषध कारोबारमा संलग्न रहेको आरोपमा नियन्त्रणमा लिई काठमाडौं जिल्ला अदालतबाट ६ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीले लागुऔषध कारोबारमा संलग्न अन्य व्यक्तिहरूको पनि खोजी भइरहेको जानकारी दिएको छ ।













