अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री तथा हाल प्रदेशसभा सदस्य दीर्घबहादुर सोडारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
उनले एक करोड आठ लाख ३८ हजार ३०२ रुपैयाँ गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले सोमबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।
अख्तियारका अनुसार सार्वजनिक पद धारण गरेको मिति २०७४ साल माघ ७ गतेदेखि २०७९ फागुन १० गतेसम्मको अवधिमा विभिन्न बैंक तथा वित्तीय संस्थामा नगद मौज्दातसमेत गरी १ करोड ९३ लाख ८९ हजार ६३७ रुपैयाँ बराबरको सम्पत्ती खर्च तथा लगानी गरेको देखिएको तर सोही अवधिमा १ करोड ८ लाख ३८ हजार ३०२ रुपैयाँ बराबरको सम्पत्तिको स्रोत पुष्टि गर्न नसकेपछि उनीविरुद्ध भ्रष्टाचार मु्द्दा दायर गरिएको हो ।
आयोगले पूर्वमुख्यमन्त्री सोडारीले गैरकानुनी रुपमा आर्जन गरेको सम्पत्ति जफत गर्न समेत माग गरेको छ। उनले आयोगसमक्ष पेश गरेको सम्पत्ति विवरणमा वास्तविक सम्पत्तिको विवरण उल्लेख नगरी सम्पत्ति लुकाइ छिपाई झुट्टा विवरण पेश गरेको अख्तियारको ठहर छ ।
सोडारीले आर्जन गरेको स्रोत नखुलेको सम्पत्तिबाट उनकी श्रीमती गीता सोडारी तथा छोरा बबि सोडारीको नाममा जग्गा खरिद, घर निर्माण र बैंक मौज्दातको सम्पत्ति भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ४७ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ को दफा २९ ख समेतको कानुन बमोजिम जफत गर्न माग गरिएको आरोप(पत्रमा उल्लेख छ ।













