सप्तरीमा डाका समूहद्वारा लुटपाटसँगै एक जनाको हत्या

Image

सप्तरीको सुरुङ्गा नगरपालिका–८ मल्हनवामा डाकाको एक समूहले लुटपाट गर्नाका साथै एक जनाको हत्यासमेत गरेको छ ।

बिहीबार राति डाकाको एक समूहले स्थानीय कान्तलाल चौधरीको घरमा प्रवेश गरी धनमाल लुटेको तथा निजको हत्यासमेत गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख ढकेन्द्र खतिवडाले जानकारी दिए ।

डाकाको आक्रमणमा परी चौधरीका भाइ रमाकान्त घाइते भएका छन् । उनलाई प्रादेशिक अस्पताल लहानमा उपचारका लागि पठाइएको छ ।

घटना शुक्रबार बिहान करिब १ बजे तिरको हो । ४–५ जनाको डाँका समूहले चौधरीको घरमा लुटपाट थालेपछि उनीहरुले प्रतिकार गरेका थिए ।

लुटपाटको प्रतिकार गर्दा घर धनी कान्तालाल चौधरीमाथि सुरुमा धारिलो हतियार प्रहार भएको थियो । धारिलो हतियार प्रहार हुँदा घाइते भएका उनलाई पछि डाँका समूहले गोली प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको थियो ।

चौधरीको घरबाट सुनचाँदीका गरगहना र नगद लुटिएको जनाउँदै प्रहरीले डाकाहरूको खोजी भइरहेको बताएको छ ।