परदेशको पसिनालाई परिवारको खुसी र राष्ट्रको समृद्धिमा बदल्ने आईएमईका २५ वर्ष

Image

नेपाली रेमिट्यान्सको पर्यायवाची बन्न पुगेको आईएमई लिमिटेड २५औं वर्षमा प्रवेश गरेको छ । २५ वर्षे यात्रामा आईएमई पहिलो मात्र होइन देशकै ठूलो र धेरै रेमिट्यान्स भित्राउने कम्पनी बनेको छ । आईएमईले आफूलाई एक नम्बरमा राखिरहेको छ । आईएमई लिमिटेड वैदेशिक रोजगारीमा गएका लाखौं नेपालीको पसिनालाई सुरक्षित, छरितो र विश्वासिलो ढंगले मुलुकमा भित्र्याउने कानुनी ढोका खोल्ने पहिलो कम्पनी हो ।

विदेशबाट नेपाल आउने कुल रेमिट्यान्सको २५ प्रतिशतभन्दा बढी रकम आईएमई एक्लैले भित्राउँछ । संसारभर आफ्नो नेटवर्क बिछ्याएको आईएमईले मुलुकभित्र हरेक गाउँमा आफ्नो बलियो उपस्थिति जनाएको छ ।

सन् २००१ भन्दा अघिसम्म वैदेशिक रोजगारीबाट कमाइएको पैसा मुलुकमा भित्र्याउने प्रमुख माध्यम अवैध हुण्डी प्रणाली नै थियो। कामको खोजीमा वैधानिक र अवैधानिक बाटो हुँदै विदेश गएका लाखौं नेपालीले आफ्नो रगत–पसिनाको कमाइ परिवारलाई पठाउने एकमात्र उपाय यही थियो। तर, यो प्रणाली पारदर्शिता, सुरक्षा र आर्थिक अनुशासनको दृष्टिकोणले अस्वीकार्य थियो। नेपाल राष्ट्र बैंकसमेत हुण्डीको फैलँदो प्रभावबाट चिन्तित थियो ।

ठ्याक्कै यस्तै संवेदनशील घडीमा ढकाल दाजुभाइ – चन्द्रप्रसाद ढकाल र हेमराज ढकालले कानुनी माध्यमबाट रेमिट्यान्स भित्र्याउने उद्देश्यसहित नेपाल राष्ट्र बैंकमा निवेदन दिए। राष्ट्र बैंकले पहिलोपटक नयाँ संरचना तयार पार्दै, ‘रेमिट्यान्स कम्पनी’को अवधारणालाई संस्थागत मान्यता दियो। त्यसैको फलस्वरूप, सन् २००१ मा स्थापना भयो नेपालकै पहिलो वैधानिक रेमिट्यान्स कम्पनी, आईएमई ।

शुरुवाती दिनहरूमा आईएमईका लागि चुनौती कम थिएन। तर, वैदेशिक रोजगारीका लागि खुला भएको मलेसिया र खाडी देशहरूसँगै युरोप, जापान र अमेरिका पुगेका नेपालीहरूको बढ्दो संख्याले कम्पनीलाई तीव्ररूपमा फैलिन अवसर प्रदान गर्‍यो। यसैको परिणामस्वरूप, आज आईएमई मुलुककै सबैभन्दा विश्वासिलो, पहुँचयोग्य र ब्रान्डेड रेमिट्यान्स कम्पनीको रूपमा स्थापित छ। रेमिट्यान्सकै कारण, कुनै न कुनै रूपमा, आईएमई आज हरेक नेपालीको घरदैलोमा प्रवेश गरिसकेको छ।

चन्द्रप्रसाद ढकालको यो यात्राको सुरुवात वाणिज्य बैंकको जागिरबाट भएको हो। २०४८ सालपछि उनले जागिर छाडेर कोल्ड स्टोर व्यवसायमा पाइला टेके। त्यसपछि उनले सुरु गरे कार्गो व्यवसाय। त्यतिबेला नेपाली तयारी पोसाक र अन्य सामानको विदेशमा उल्लेखनीय माग थियो। व्यवसाय विस्तारको सोचसाथ ढकालले अमेरिका जाने योजना बनाए, तर एक नजिकको मित्रको सल्लाहमा उनी जापानतिर मोडिए। अमेरिका जाने बाटो जापान बनाउने योजनामा उनी जापानमै करिब १० महिना बसेर काम गरे।

त्यही बेलामा, जापानमा बसेका नेपालीहरूले कसरी कठिनाइसाथ पैसा पठाउँथे भन्ने विषय उनले नजिकबाट अवलोकन गरे। नेपालीहरूले होटल, रेस्टुराँ तथा अन्य व्यवसायमा राम्रै कमाइ गरिरहेका थिए, तर त्यो कमाइ नेपाल पठाउने प्रक्रिया असहज, खर्चिलो र अविश्वसनीय थियो। यही अनुभवबाट व्यवसायी चन्द्रप्रसाद ढकाललाई ‘रेमिट्यान्स कम्पनी’ को वास्तविक अवधारणा फुर्‍यो—एक यस्तो प्रणाली जसले विदेशमा बसेका नेपालीहरूलाई सहज, सुरक्षित र कानुनी माध्यमबाट आफ्नो कमाइ घर पठाउन सहयोग पुर्‍याओस्।

ठ्याक्कै त्यही बेला, सन् २००१ मा नेपाल सरकारले मलेसिया वैदेशिक रोजगारीका लागि खुला गर्‍यो। एकैपटक ठूलो संख्यामा नेपाली मलेसिया पुगे, तर कानुनी रूपमा पैसा पठाउने व्यवस्था थिएन। चन्द्रप्रसाद ढकालको जापान बसाइँको अनुभव र मलेसियामा देखिएको समस्याले उनलाई संस्थागत उपाय अपनाउन उत्प्रेरित गर्‍यो। त्यसैको परिणामस्वरूप जन्मियो आईएमई, जुन आज २४ वर्षे गौरवमय यात्रामा प्रवेश गरिसकेको छ।

आईएमईले यति गहिरो प्रभाव छोड्यो कि आज पनि कतिपय नेपालीहरू, जुनसुकै कम्पनी वा माध्यमबाट पैसा पठाए पनि ूआईएमई गरेको छुू भन्ने शब्दावली प्रयोग गर्छन्। यो केवल भाषा होइन, ब्रान्डको सफलताको द्योतक हो।

यस्तो छ आईएमईको प्रेरणादायी टाइमलाइन

राष्ट्र बैंकबाट सन् २००१ मा लाइसेन्स लिएर आईएमई रेमिट्यान्स सेवा सुरु भयो । सोही वर्ष आईएमईको स्थापना गरिएको थियो । त्यसको एक वर्षपछि, सन् २००२ मा कम्पनीले मलेसियाको केन्द्रीय बैंक बैंक नेगारा मलेसियाबाट अनुमति लिएरआफ्नो कम्पनी स्थापना गर्यो ।

सन् २००४ मा कम्पनीले आईएमई नाममै फाइनान्स कम्पनी स्थापना गर्यो । सोही वर्ष कम्पनीले अष्ट्रेलियामा पनि आफ्नो कार्यालय स्थापना गर्यो । सन् २००७ मा आईएमई मलेसियामार्फत इन्डोनेशिया, बंगलादेश, श्रीलंका, फिलिपिन्स र भियतनाममा आफ्नो नेटवर्क स्थापना गर्यो ।

सन् २००७ मा कम्पनीले आफ्नो सेवा मलेसियाबाट इन्डोनेशिया, बंगलादेश, श्रीलंका, फिलिपिन्स र भियतनामसम्म विस्तार गर्‍यो । यसले आईएमईको नेटवर्कलाई दक्षिण तथा दक्षिण–पूर्वी एसियाली मुलुकहरूमा बलियो बनायो ।

त्यसको एक वर्षपछि, सन् २००८ मा, आईएमईले उत्पादन क्षेत्रमा समेत हात हालेको थियो । कम्पनीले आइएमई अक्सिजन उद्योग स्थापना गर्‍यो भने ग्लोबल आईएमई क्यापिटल नामको मर्चेन्ट बैंक पनि सुरु गर्‍यो ।

सन् २००९ मा कम्पनीको सेवा विस्तार मलेसियामा ५० भन्दा बढी आउटलेटसम्म फैलिएको थियो । सोही वर्ष नेपालमै सामाजिक उत्तरदायित्व अन्तर्गत आईएमई फाउन्डेसनको स्थापना भयो ।

सन् २०१० देखि २०१३ सम्म आईएमईले अमेरिकामा आफ्नो उपस्थिति विस्तार गर्‍यो । यही अवधिमा नेपाल सरकारले आईएमईलाई ‘सर्वाधिक रेमिट्यान्स भित्र्याउने कम्पनी’ घोषणा गरेर सम्मानित गर्‍यो ।त्यस्तै कम्पनीले सन् २०१४ मा रेमिट्यान्स कम्पनीतर्फ सबैभन्दा बढि कर तिर्ने सम्मान पाइसकेको थियो ।

सन् २०१५ मा आइएमई मलेसियाले विश्वको तेस्रो ठूलो रेमिट्यान्स कम्पनी रियासँग रणनीतिक साझेदारी गर्यो । सोही वर्ष नेपालमा दोस्रो पटक धेरै कर तिरेर सम्मानित भयो भने आईएमई ग्रुपअन्तर्गत आइएमई डिजिटल सोलुसनको अर्को कम्पनी खडा गर्यो ।

सन् २०१६ मा कम्पनीले काठमाडौंको चन्द्रागिरी हिल्स केबलकार सञ्चालनमा ल्यायो । सोही वर्ष आईएमई डिजिटल सोलुसन अन्तर्गत डिजिटल वालेट आईएमई पे सुरु भयो जसले रेमिट्यान्सलाई डिजिटल माध्यमबाट सजिलो बनायो । यही वर्ष कम्पनीलेत्यस्तै सन् २०१६ मा फ्रस्ट एन्ड सलिभनबाट बेस्ट रेमिट्यान्स कम्पनीको अवार्ड लियो भने सोही वर्ष सर्वाधिक कर तिरेको आधारमा लगातार तेस्रो वर्ष सरकारबाट सम्मानित भयो ।

त्यसैगरि सन् २०१७ मा आईएमई पेको डिजिटल वालेट सुरु गरेर मोबाइल वालेटमार्फत सिधैं रेमिट्यान्स पठाउने व्यवस्था कम्पनीले सुरु गरेको थियो जुन डिजिटल युगमा एक क्रान्तिकारी कदम सावित भयो ।

सन् २०२० मा कम्पनीले मनीग्रामसँग साझेदारी गर्दै विश्वभरबाट नेपालमा रेमिट्यान्स भित्र्याउनको पहुँच अझ सहज बनायो । सोही वर्ष सबैभन्दा बढि कर तिर्ने व्यक्तिको पहिचानको प्रतीकका रुपमा समूहका अध्यक्ष ढकाललाई सीआईपी अवार्ड प्राप्त भयो भने सोहि वर्ष नै आईएमई पेले १ लाख युजरबाट एक लाख डाउनलोड प्राप्त गर्यो । त्यसैगरी सरकारबाट लगातार चौथोपटक सर्वाधिक कर तिरेको आधारमा सम्मानित भयो ।
सन् २०२४ मा आईएमईले जीएमई रेमिटसँग मर्जर गर्यो जुन रेमिट्यान्स कम्पनीको पहिलो मर्जर पनि बन्न पुगेको छ ।

चन्द्रागिरी केवल कारको स्थापना गरेर नेपालकै पर्यटन क्षेत्रलाई अर्को चरणमा उचालेको आईएमई सन् २०२४ सम्म आईपुग्दा यो क्षेत्रको अग्रणी समूहका रुपमा स्थापित भईसकेको छ । चन्द्रागिरी केबलकारसँगै नवलपुरको मौलाकाली, रुपन्देहिको लुम्बिनी केवल कारसँगै व्यवस्थित होटल तथा रिसोर्टका संरचना बन्दा यी गन्त्व्य अहिले पर्यटकको खास रोजाइका गन्त्यव्यका रुपमा स्थापित भईसकेका छन । यो सँगै काठमाण्डौको लाजिम्पाटमा अवस्थित होटल लि हिमालय र बाग्लु्ंगको इला कम्फर्टमार्फत आइएमईले हस्पिटालिटीका क्षेत्रमा नयाँ उचाई लिने संकेत गर्छ ।
अहिलेसम्म आइपुग्दा ढकालले स्थापना गरेको आईएमई ग्रुप अहिले विशाल बनेको छ ।

आइएमई ग्रुपले बैंक, बिमा, जलविद्युत र पर्यटन क्षेत्रमा उपस्थिति बलियो बनाएको छ । रेमिट्यान्स भित्र्याउनमा जस्तै बैंक तथा वित्तीय संस्थाको मर्जरमा चन्द्र ढकाल सबैभन्दा अघि छन् । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्षसमेत रहेका उनले डेढ दर्जन बैंक तथा वित्तीय संस्थालाई ग्लोबल आइएमई बैंकमा मर्ज गराएर देशकै अब्बल वाणिज्य बैंक बनाएका छन् ।

यसवर्षबाट रेमिट्यान्स, बैंकिङ, बीमा, पर्यटन, जलविद्युत्, व्यापार, सूचना प्रविधिमा लगानी विस्तार गर्दै आएको आईएमई समूहले उत्पादनमूलक उद्योगमा पनि लगानी बढाउन थालेको छ। महोत्तरीको गौशालामा कागज उद्योग सुरु गरेको आईएमई समूह हेटौंडामा बियर उद्योग सञ्चालनको तयारीमा छ ।

रेमिट्यान्सको वैधानिक ढोका खोल्ने सपना देखेर सुरु गरिएको यात्रा आज बहुआयामिक व्यावसायिक साम्राज्यमा रूपान्तरण भएको छ। लाखौं नेपालीको पसिनालाई मूल्यमा रूपान्तरण गर्ने यो संस्थाले केवल अर्थतन्त्रलाई मात्र सशक्त बनाएको छैन, उद्यमशीलता र नवप्रवर्तनको पनि उत्कृष्ठ उदाहरण प्रस्तुत गरेको छ। २५ वर्षे यो गौरवशाली यात्राले यो कुरा प्रमाणित गरिसकेको छ कि सपना, इमान र उद्देश्य प्रष्ट भए नेपालमै पनि विश्वस्तरीय व्यवसाय सम्भव छ।

आईएमईको कथा केवल एउटा कम्पनीको विस्तारको कथा होइन, यो हो देशको आर्थिक, सामाजिक र उद्यमशील परिवेश बदल्ने एक मिसनको यात्रा। चन्द्रप्रसाद ढकाल र हेमराज ढकालले सुरु गरेको यो यात्रा वैदेशिक रोजगारमा गएका नेपालीहरूको पसिनालाई सुरक्षित रुपमा घरसम्म पुर्‍याउने उद्देश्यसँगै सुरु भएको हो। तर आज त्यो उद्देश्यले सिंगो अर्थतन्त्रको गहिरो रूपान्तरण सम्भव बनाएको छ।

आज आईएमई समूह नेपालकै एक प्रमुख कंग्लोमरेट बनिसकेको छ। ग्लोबल आइएमई बैंक, आईएमई लाइफ इन्स्योरेन्स, आईएमई जनरल इन्स्योरेन्स, चन्द्रागिरी हिल्स, आईएमई पे, आईएमई फाउन्डेसन, आईएमई हाइड्रो, कागज उद्योग, बियर उद्योग र दर्जनौं व्यावसायिक उपप्रवेशमार्फत आईएमईले आफ्ना गतिविधि फैलाएको छ।

रेमिट्यान्स सेवा सञ्चालनबाट सुरु भएको यो यात्रा, अहिले बैंकिङ, बीमा, जलविद्युत, उत्पादनमूलक उद्योग, डिजिटल फिनटेक, पर्यटन र सामाजिक उत्तरदायित्वका क्षेत्रमा समान रूपले प्रभावशाली उपस्थिति बनाइसकेको छ।