साढे ११ करोड ठगी प्रकरण : सिप्रबी सेक्युरेटिजका महाप्रबन्धकमाथि तीन दिनको म्याद थप

Image

साढे ११ करोड रुपैयाँ ठगी गरेको आरोपमा पक्राउ परेका सिप्रबी सेक्युरेटिजका महाप्रबन्धक जयन्त श्रीवास्तवमाथि अनुसन्धानका लागि तीन दिन म्याद थप गरिएको छ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख एसपी कुलदीप चन्दका अनुसार श्रीवास्तव बुधबार बिहान स्वयं प्रहरी परिसर भद्रकाली उपस्थित भएका थिए। प्रहरीको प्रारम्भिक अनुसन्धानपछि उनलाई नियन्त्रणमा लिइएको थियो।

श्रीवास्तवविरुद्ध पीडित मीता अग्रवाल मुरारकाले ठगीको जाहेरी दिएकी थिइन्। उनले शेयर कारोबारका लागि दिएको रकम फिर्ता नपाएको भन्दै उजुरी दर्ता गराएकी हुन्। मुरारकाले दिएको जाहेरीअनुसार श्रीवास्तवले साढे ११ करोड रुपैयाँ बराबरको रकम लिएर समेत फिर्ता नगरेको आरोप छ।

प्रहरी स्रोतले दिएको जानकारी अनुसार, उक्त प्रकरणमा अन्य व्यक्तिहरुको संलग्नता र रकम कहाँ लगानी गरिएको थियो भन्ने विषयमा अनुसन्धान जारी रहेको छ। सोही आधारमा अदालतबाट तीन दिनको म्याद थप अनुमति लिइएको हो।

यसअघि पनि यस्तै प्रकृतिको आरोपमा शेयर कारोबारी दीपेन्द्र अग्रवाल पक्राउ परेका थिए। लगातार यस्ता ठगीका घटनाले पुँजी बजारमा लगानीकर्ताको विश्वास कमजोर बनिरहेको बेला अनुसन्धान र कारबाहीको माग उच्च बनेको छ।

प्रहरीले यस प्रकरणलाई गम्भीरताका साथ अगाडि बढाइरहेको बताएको छ। पुँजी बजारमा हुने यस्ता अनियमितता नियन्त्रणका लागि सम्बन्धित नियामक निकायहरूलाई पनि सक्रिय भूमिका खेल्नुपर्ने आवाज उठ्न थालेको छ।