इजिप्टमा लामो वार्तापछि, इजरायल र हमास युद्धविरामका लागि सहमत भएका छन् । यसले गाजामा दुई वर्षदेखि चलिरहेको युद्ध अन्त्यको नजिक ल्याएको छ भने विश्वभर अब युद्ध अन्त्य हुने भयो भन्ने खुशी छाएको छ । यो युद्धको सन्दर्भमा महत्वपूर्ण प्रगति भए पनि, यो वास्तवमा समाप्त हुनेछ भन्ने कुनै ग्यारेन्टी भने नभएको विश्लेषण शुरू भएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको हस्तक्षेपले गाजामा युद्धविराम र शान्तितर्फको यो हालैको प्रगतिमा प्रमुख भूमिका खेलेको छ । ट्रम्पले हमासमाथि मात्र नभई इजरायलमाथि पनि दबाब दिए । ट्रम्प युद्ध रोक्न मात्र चाहँदैनन् तर यसको लागि पुरस्कृत हुन पनि चाहन्छन् (नोबेल शान्ति पुरस्कार) । धेरैले ट्रम्पले आज घोषणा हुन लागेको नोबेल शान्ति पुरस्कार पाउन त्यस अघि नै हमास र इजरायलमाथि दबाब बनाएर युद्ध विराममा सहमत गराएको समेत आरोप लगाइएको छ । युद्ध विरामपछि ह्वाइट हाउसले जारी गरेका भिडियो र अन्य सामाग्रीले पनि यसैको संकेत गर्दछ । जे उद्धेश्यका लागि भएपनि इजरायल र हमासबीच युद्धविरामको सम्झौता हुनु गाजामा हरेक दिन भइरहेको नरसंहार रोकिनु हो ।
हमासको आक्रमणको प्रतिक्रियामा, इजरायलले अक्टोबर ७, २०२३ मा गाजामा युद्धको घोषणा गर्यो । हमासको आक्रमणमा १२०० जनाको मृत्यु भएको थियो भने एक नेपालीसहित २५१ जना नागरिकलाई बन्धक बनाएको थियो । इजरायली कारबाहीमा १८ हजार बालबालिकासहित ६७ हजार भन्दा बढी प्यालेस्टिनी नागरिक मारिएको बताइएको छ । युद्धले गाजाको धेरैजसो भागलाई तहसनहस पारेको छ र विनाशकारी मानवीय संकट सिर्जना गरेको छ ।
सम्झौता रुपरेखा गत हप्ता संयुक्त राज्य अमेरिकामा तयार पारिएको थियो । इजरायली प्रधानमन्त्री नेतान्याहूले ह्वाइट हाउस समारोहमा राष्ट्रपति ट्रम्पसँग यस योजनामा सहमति जनाएपछि यो अगाडी बढेको थियो । नेतान्याहूलाई विगतका शान्ति प्रयासहरूलाई कमजोर बनाएको आरोप लगाइएको छ । रिपोर्टहरूमा राष्ट्रपति ट्रम्प यस पटक नेतान्याहूसँग असन्तुष्ट रहेको र उनको धैर्यता टुटेको दाबी गरिएको छ ।
अमेरिकाको इजरायलमाथि उल्लेखनीय प्रभाव छ । यो कुरालाई ध्यानमा राख्दै, इजरायली प्रधानमन्त्रीसँग शान्ति प्रक्रियामा सामेल हुनु बाहेक अरू कुनै विकल्प थिएन । अतिवादी समूह हमास पनि राष्ट्रपति ट्रम्पको ‘पूर्ण विनाश’ को धम्कीपछि ठूलो दबाबमा परेको थियो । अरब र अन्य मुस्लिम देशहरूले राष्ट्रपति ट्रम्पको योजनालाई अनुमोदन गरेपछि हमास थप दबाबमा परेको थियो । अर्को तर्फ इजिप्ट, कतार र टर्कीले पनि मध्यस्तकर्ताको राम्रो भूमिका खेलेका छन् ।
यो नयाँ सम्झौताको विवरण अझै जारी गरिएको छैन, तर यसमा २० जना बचेकाहरू सहित सबै बन्धकहरूको रिहाई हुने उल्लेख छ । सबै जीवित बन्धकहरूलाई एकैसाथ रिहा गरिने बताइएको छ र यो सम्भवतः सोमबारसम्म हुने बताइएको छ । जबकि २८ मृतकहरूको शव चरणबद्ध रूपमा फिर्ता गरिने बताइएको छ ।
सम्झौता अन्तर्गत, इजरायली जेलमा रहेका सयौं प्यालेस्टिनीहरूलाई रिहा गरिनेछ, इजरायली सेना गाजाका निश्चित क्षेत्रहरूबाट फिर्ता हुनेछन् र गाजामा मानवीय सहायता बढाइनेछ ।
अर्कोतर्फ राष्ट्रपति ट्रम्पले शान्तिको लागि नोबेल शान्ति पुरस्कार प्राप्त गर्ने आफ्नो इच्छा खुला रूपमा व्यक्त गरेका छन् । ट्रम्पले आफ्नो परम्परागत शैलीमा सामाजिक सञ्जालमा यसलाई ‘ऐतिहासिक र अभूतपूर्व’ भनेर वर्णन गरिरहेका छन् र यो स्थायी शान्तितर्फको पहिलो कदम भनेका छन् ।
यो निश्चित रूपमा एक महत्त्वपूर्ण क्षण हो, तर गाजा शान्ति सम्झौता पूरा हुनेछ भनेर पूर्ण निश्चितताका साथ भन्न सकिँदैन, किनकि मुख्य बुँदाहरूमा धेरै काम गर्न अझै बाँकी छ । यसमा हमासलाई निशस्त्रीकरण गर्ने, इजरायली सेना फिर्ताको लागि समय सीमा तोक्ने र गाजालाई कसले शासन गर्ने भन्ने निर्णय अझै भएको छैन ।
गाजामा प्यालेस्टिनीहरूले मध्यरातमा हमास-इजरायल सम्झौताको खुशीयाली मनाएका छन् र उनीहरुले उनीहरूका समस्या समाप्त हुने आशा व्यक्त गरेका छन् । यसैबीच, तेल अभिभमा, मानिसहरू बन्धकहरूलाई समर्पित चौकमा भेला भएका छन् ।
त्यस्तै हमासलाई थाहा छ, बन्धकहरूको रिहाइले वार्तामा यसको स्थिति कमजोर बनाउनेछ । त्यसकारण, यसले इजरायलबाट बन्धकहरूलाई रिहा गरिएपछि फेरि युद्ध सुरु नगर्ने ग्यारेन्टी माग गरेको छ । शंका गर्नुका धेरै कारणहरू छन् । मार्चमा, इजरायलले युद्धविराम समाप्त गर्यो र घातक हवाई आक्रमणहरू पुनः सुरु गर्यो । अर्कोतर्फ, इजरायली जनता पनि युद्धबाट दिक्क भएका छन् । सर्वेक्षणहरू अनुसार, धेरैजसो इजरायलीहरू युद्धको अन्त्य चाहन्छन् ।
तर नेतान्याहूले अझै पनि राजनीतिक चुनौतीहरूको सामना गरिरहेका छन् । उनको सरकारलाई अति-राष्ट्रवादीहरूले समर्थन गरेका छन्, जसले सम्झौता भएमा गठबन्धन छोड्ने धम्की दिएका छन् । यही कारणले गर्दा नेतान्याहू यो युद्ध लम्ब्याउन अनेक उपाय खोजिरहेका छन् । अर्को शब्दमा भन्नु पर्दा ‘युद्ध’ नेतान्याहूको इजरायलमा सत्ता टिकाउने महत्वपूर्ण हतियार हो । नेतान्याहूले हमास विरुद्ध ‘पूर्ण विजय’ को वाचा गरेका छन् । उनी एउटा सम्झौता चाहन्छन् जसले उनलाई सबै कुरा हासिल गरेको भन्न अनुमति दिओस् । नेतान्याहूले घोषणालाई ‘इजरायलको लागि राष्ट्रिय, नैतिक र कूटनीतिक विजय’ भनेका छन् , तर उनले आफ्नो बयानमा युद्ध समाप्त भएको भनेका छैनन्, जसबाट हमास सशंकित रहेको छ ।
















