पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल आयल निगमले ३६०० किलोलिटर क्षमताको हवाई इन्धन डिपोको शिल्यनास गरेको छ ।
उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले उक्त डिपो निर्माणको शिलान्यास गरेका हुन् । निगम सचालक समिति अध्यक्ष मधु मरासिनी र आयल निगमका कार्यकारी निर्देशक उमेश थानीको उपस्थिति रहेको थियो ।
अन्तर्राष्ट्रिय विमानस्थलमा उडान सुरु भए पनि हवाई इन्धन भण्डारण डिपो थिएन । विमानस्थल परिसरभित्र डिपो नहुँदा पोखराको घरेलु विमानस्थलबाट रिफ्युलर ल्याएर जहाजमा इन्धन भर्ने गरिएको छ । अब भने यो हवाई इन्धन भण्डारण बनेपछि उक्त झन्झटबाट मुक्त हुने निगमले जनाएको छ ।
हवाई इन्धन डिपो निर्माण गर्न निगमले नागरिक उड्डयन प्राधिकरण (क्यान)सँग पोखरा विमानस्थलमा रहेको जग्गा लिजमा लिएको हो ।
३६०० किलोलिटर अर्थात् ३६ लाख लिटरका हवाई इन्धन भण्डारण ट्यांकहरु निर्माण गरिने योजना रहेको निगमले जनाएको छ । जसमा १२०० किलोलिटर अर्थात १२ लाख लिटरका तीन वटा ट्यांक रहेका छन् ।
७७ करोड २९ लाख रूपैयाँको परियोजनाका लागि भारतीय कम्पनी बीएचएनसँगको सहकार्यमा रेलिगेयर कन्सट्रक्सन र समानान्तरले ठेक्का पाएका छन् । उक्त निर्माण कम्पनीले काम सुरु भएको १ वर्षमा डिपो निर्माण सम्पन्न गर्नु पर्ने निगमले जनाएको छ ।
निगमको अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा, विराटनगर, भद्रपुर, भैरहवा, सुर्खेत, नेपालगन्ज र धनगढीमा इन्धन डिपो छ।
मुलुकभर सञ्चालनमा रहेका २९ मध्ये नौवटा विमानस्थलमा मात्र निगमले हवाई इन्धन बिक्री गरे पनि २० वटा विमानस्थलमा हवाई इन्धन डिपो छैन ।















