बुधबार नेपाली बजारमा सुनको भाउले नयाँ कीर्तिमान बनाएको छ । एकैदिन सुनको मूल्य तोलामा १० हजार ४ सय रुपैयाँले बढ्दै हालसम्मकै उच्च विन्दुमा पुगेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारका लागि सुनको मूल्य प्रतितोला २ लाख ९५ हजार १ सय रुपैयाँ तोकिएको छ । अघिल्लो दिन प्रतितोला २ लाख ८४ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य एकाएक उकालो लागेको हो ।
अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ उच्च दरले बढेपछि त्यसको प्रभाव नेपाली बजारमा पनि देखिएको महासंघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस ४ हजार ८ सय ५० अमेरिकी डलर नाघेको छ, जसका कारण स्थानीय बजारमा पनि सुनको मूल्यमा तीव्र वृद्धि भएको हो ।
यता, चाँदीको भाउ पनि बढेको छ । अघिल्लो दिनको तुलनामा चाँदी प्रतितोला ४० रुपैयाँले बढ्दै बुधबार प्रतितोला ५ हजार ९२० रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन चाँदी प्रतितोला ५ हजार ८८० रुपैयाँमा कारोबार भएको थियो ।















