नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सबै राजनीतिक दललाई आफ्ना चुनावी घोषणापत्रमा अर्थतन्त्रको विकासका लागि निजी क्षेत्रले अघि सारेका एजेण्डालाई प्राथमिकताका साथ समेट्न आग्रह गरेका छन्।
नुवाकोट महोत्सवलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले मुलुक निर्वाचनमय अवस्थामा रहेको र सबै राजनीतिक दलहरू यतिबेला चुनावी घोषणापत्र तयार गर्ने प्रक्रियामा रहेकाले निजी क्षेत्रका प्राथमिकताका विषय घोषणापत्रमा समावेश गर्नुपर्ने आवश्यकता औंल्याए।
उनले भने, “मुलुकको अर्थतन्त्रको विकास सबै राजनीतिक दलको साझा एजेण्डा बन्नुपर्छ। त्यसका लागि निजी क्षेत्रका एजेण्डालाई दलहरूले आफ्ना चुनावी घोषणापत्रमा प्राथमिकताका साथ राख्नुपर्छ। म सबै राजनीतिक दलहरूलाई आग्रह गर्दछु कि निजी क्षेत्रका एजेण्डालाई पहिलो प्राथमिकता दिनुहोस्।”
अध्यक्ष ढकालले रोजगारी सिर्जना, उद्योगधन्दा तथा कलकारखानाको समुचित विकासमार्फत औद्योगिक विस्तार गर्दै मुलुकको आर्थिक विकास गर्न निजी क्षेत्रका एजेण्डाले प्रमुख स्थान पाउनुपर्ने सुझाव दिए। उनले मुलुकको अर्थतन्त्र संकटपूर्ण अवस्थामा पुगेका बेला सरकार र निजी क्षेत्रको संयुक्त प्रयासबाट हालको अवस्था सम्भव भएको स्मरण गराउँदै आगामी दिनहरू पनि सहज नहुने भएकाले निरन्तर सहकार्य आवश्यक रहेको बताए।
उनले जुनसुकै राजनीतिक दलको सरकार बने पनि अर्थतन्त्र सबैको साझा एजेण्डा बन्नुपर्ने र निजी क्षेत्रसँगको सहकार्यलाई आत्मसात गर्नुपर्नेमा जोड दिए। मुलुकको आर्थिक अवस्थामा यथोचित सुधार आए मात्र सुशासन कायम भई समृद्धि सम्भव हुने भन्दै अध्यक्ष ढकालले आर्थिक एजेण्डालाई साझा राष्ट्रिय एजेण्डाका रूपमा विकास गर्न सबै राजनीतिक दललाई आग्रह गरे।
















