निर्वाचन खर्च जोहोका लागि सेयर बिक्री बढ्दा नेप्से १७ अंकले घट्यो, कारोबार रकम भने बढ्यो

Image

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि खर्चको जोहो गर्न लगानीकर्ताहरूले सेयर मूल्य घट्दा पनि सेयर बिक्री गरेको अनुमान गरिएको छ। सेयर मूल्यमा गिरावट आए पनि कारोबार रकम बढेकाले बजारमा नयाँ लगानीकर्ता प्रवेश गर्ने आशा भने कायम रहेको विश्लेषकहरूको भनाइ छ।

बिहीबार कारोबार सुरु हुँदा २ हजार ७३१.५९ अंकमा रहेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दिनभरको कारोबारपछि १७.५३ अंकले घट्दै २ हजार ७१४.०५ बिन्दुमा झरेको छ। यस दिन नेप्सेसँगै सेन्सेटिभ इन्डेक्स पनि १.५६ अंकले घटेको छ।

बिहीबार नेप्सेमा कारोबार भएका कम्पनीहरूमध्ये ८५ कम्पनीको सेयर मूल्य बढेको छ भने १ सय ७० कम्पनीको सेयर मूल्य घटेको छ। यस्तै, ७ कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन भएन। हिमालय दोलखा हाइड्रोपावर र शिवश्री हाइड्रोपावर कम्पनीको सेयर मूल्य भने ९ प्रतिशतभन्दा बढीले बढेको छ।

समूहगत परिसूचकतर्फ बैंकिङ समूह ६.५७, विकास बैंक १३१.८१, वित्त ४५.८३, होटल तथा पर्यटन ९८.९४, जीवन बीमा ८४.०८, उत्पादन तथा प्रशोधन २००.७१, लघुवित्त ३०.२७, निर्जीवन बीमा ७६.८३, अन्य २७.४० र व्यापार समूह ६.७१ अंकले घटेका छन्।

यद्यपि जलविद्युत् समूह १३.७७, लगानी समूह ०.०५ र सामूहिक लगानी कोष ०.०७ अंकले बढे पनि समग्र बजार सूचकमा त्यसको प्रभाव पर्न सकेन।

कारोबार रकमतर्फ भने बिहीबार उल्लेख्य वृद्धि देखिएको छ। नेप्सेका अनुसार ३२० कम्पनीको १ लाख ३८ हजार ८ सय ८३ कारोबारबाट १४ अर्ब ५६ करोड रुपैयाँ बराबरको ३ करोड ५४ लाख ७७ हजार कित्ता सेयर खरिद–बिक्री भएको छ।

यो कारोबार रकम अघिल्लो दिन बुधबारको तुलनामा धेरै हो। बुधबार नेप्सेमा करिब ११ अर्ब रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो। बजारमा सूचक घटे पनि कारोबार रकम बढ्नुले लगानीकर्ताको चासो अझै कायम रहेको संकेत गरेको विश्लेषकहरूको भनाइ छ।