राजनीतिक दलसम्बन्धी अध्यादेश पेश भएपछि कसले के भने ?

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आफ्ना १४ सांसदमाथिको कारबाहीको माग गर्नुको कुनै अर्थ नरहेको बताएका छन् । संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष नेपालले सर्वोच्चले नै कुनै ह्विप नलाग्ने निर्णय गरेको अवस्थामा एमालेले गरेको कारबाही मागको कुनै अर्थ नरहेको बताए ।

बुधवार कारबाही सिफारिस गरिएका आफ्ना १४ सांसदलाई सभामुखले निष्कासन नगरेको र पार्टीले कारबाही गरेको व्यक्ति संसद्मा उपस्थित भएको भन्दै सदन अवरुद्ध रहेको थियो । अध्यक्ष नेपालले एमालेले संविधान र कानुन मिचेको बताए । त्यस्तै एकीकृत समाजवादीका नेतृ रामकुमारी झाँक्रीले एमाले संसद्मा स्तरहीन चरित्र देखाएको टिप्पणी गरेकी छिन् ।

यता एमाले सांसद खगराज अधिकारीले कानुन नियम, लोकतान्त्रिक व्यवस्था विपरीत सभामुखले काम गरेकाले सदन अवरुद्ध गरेको र माग पुरा नभएसम्म सदन चल्न नसक्ने बताए ।
त्यस्तै माओवादी सांसद वर्षमान पुन अनन्तले एमालेले संसदीय मर्यादा विपरीत सदन अवरुद्ध गरेको बताए । उनले आचरणसँग सम्बन्धित बाहेक अन्य विषयमा सभामुखको विषयमा प्रश्न उठाउन नपाइने व्यवस्था हुँदा एमालेले त्यसलाई स्वीकार गर्न नसकेको बताएका छन् ।  उनले सदनमा भएको बेठिक घटनालाई सच्चाउनुपर्ने धारणा ब्यक्त गरे ।

 

सम्बन्धित समाचार