सोमबार नेप्सेमा सामान्य सुधार, ८ अर्बमा सीमित कारोबार

Image

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सोमबार सामान्य बढेर बन्द भएको छ। कारोबारको सुरुआतमा उकालो लाग्दै २७०६ अंकसम्म पुगेको नेप्से उतारचढावपछि अन्ततः १.५३ अंकले बढेर २६९५.७३ अंकमा कायम भएको हो।

कारोबार रकम भने आइतबारको तुलनामा घटेको छ। आइतबार ९ अर्ब रुपैयाँभन्दा बढीको कारोबार भएको बजारमा सोमबार घटेर ८ अर्ब २२ करोड रुपैयाँमा सीमित रह्यो।

सोमबारको कारोबारमा ११४ कम्पनीको सेयर मूल्य बढ्दा १३४ कम्पनीको घटेको छ भने १३ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।

समूहगत परिसूचकमध्ये होटल तथा पर्यटन समूह १.७७ प्रतिशतले बढेको छ भने विकास बैंक समूह ०.७७ प्रतिशतले उकालो लागेको छ। यता फाइनान्स उपसूचक ०.८९ प्रतिशतले घट्दा जीवन बीमा समूह ०.३५ प्रतिशतले ओरालो लागेको छ।

व्यक्तिगत कम्पनीतर्फ, एसवाइ प्यानल, श्रीनगर एग्रिटेक र हिमस्टार ऊर्जाको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्दै १० प्रतिशतले वृद्धि भएको छ। यता मिथिला लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य भने १० प्रतिशतले घटेको छ।