प्रभु बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमन शर्मा नियुक्त भएका छन्। मंगलबार बसेको बैंकको सञ्चालक समिति बैठकले शर्मालाई चार वर्षका लागि सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो।
बैंकका निवर्तमान सीईओ अशोक शेरचनले आइतबार राजीनामा दिएपछि त्यसलाई स्वीकृत गर्दै सञ्चालक समितिले शर्मालाई नयाँ सीईओको जिम्मेवारी सुम्पिएको हो।
बैंकिङ क्षेत्रमा २५ वर्षभन्दा बढी अनुभव भएका शर्मा अनुभवी तथा कुशल बैंकरको रूपमा परिचित छन्। उनी यसअघि सनराइज बैंकको प्रमुख कार्यकारी अधिकृत रहिसकेका छन्। त्यसअघि उनले माछापुच्छ्रे बैंकको सीईओका रूपमा पनि नेतृत्व गरेका थिए।
शर्मासँग ग्लोबल आइएमई बैंक, माछापुच्छ्रे बैंक, एनएमबी बैंकलगायत विभिन्न वाणिज्य बैंकमा काम गरेको अनुभव छ।
शर्माले त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्र तथा भौतिकशास्त्रमा स्नातकोत्तर अध्ययन पूरा गरेपछि सन् १९९७ मा नेपाल एसबीआई बैंकमार्फत बैंकिङ करियर सुरु गरेका थिए। सात वर्षसम्म एसबीआई बैंकमा काम गरेपछि उनले सन् २००५ मा नेदरल्याण्डको मास्ट्रिक्ट स्कूल अफ म्यानेजमेन्टबाट एमबीए (फाइनान्स) अध्ययन पूरा गरेका हुन्।
















