स्वास्थ्य बिमा बोर्डले बीमित नागरिकले पाउँदै आएको वार्षिक एक लाख रुपैयाँ बराबरको उपचार सेवा सुविधा नघटाइएको स्पष्ट पारेको छ। पछिल्लो समय सामाजिक सञ्जाल तथा केही सञ्चारमाध्यममा स्वास्थ्य बिमा सुविधा घटाइएको भन्ने भ्रामक सूचना फैलिएको भन्दै बोर्डले त्यसको खण्डन गरेको हो।
बोर्डका सूचना अधिकारी विकेश मल्लका अनुसार स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत तीन हजार पाँच सय रुपैयाँ योगदान गरेबापत पाँचजनाको परिवारले पाउने वार्षिक कुल एक लाख रुपैयाँ बराबरको उपचार सेवा सुविधा यथावत् रहेको छ।
उनका अनुसार उक्त रकममध्ये २५ हजार रुपैयाँ बाहिरंग सेवा (ओपीडी) का लागि र ७५ हजार रुपैयाँ अस्पताल भर्ना, आकस्मिक सेवा तथा शल्यक्रियाजस्ता उपचारका लागि छुट्याइएको छ।
स्वास्थ्य बिमा बोर्डका अनुसार पाँचजनासम्मको परिवारका लागि तीन हजार पाँच सय रुपैयाँ योगदानमा एक लाख रुपैयाँसम्मको स्वास्थ्य सेवा सुविधा उपलब्ध गराइन्छ। परिवारका सदस्य संख्या पाँचभन्दा बढी भएमा प्रतिसदस्य सात सय रुपैयाँका दरले योगदान थपिँदै जाने र प्रतिसदस्य २० हजार रुपैयाँ बराबरको सेवा सुविधा थपिने व्यवस्था गरिएको छ।
सूचना अधिकारी मल्लले अनावश्यक ओपीडी सेवाको अत्यधिक प्रयोग र दोहोरोपन रोक्न तथा गम्भीर, जटिल र ज्यान जोखिममा पर्ने रोगको उपचारका लागि स्रोत सुनिश्चित गर्न सेवाको रकम अलग–अलग शीर्षकमा छुट्याइएको स्पष्ट गरे।
उनका अनुसार पाँचजनाको परिवारले वर्षभरिमा बढीमा २५ हजार रुपैयाँ बराबरको ओपीडी सेवा लिन पाउने व्यवस्था गरिएको छ भने पाँचजनाभन्दा बढी सदस्य भएका परिवारमा प्रतिसदस्य थप पाँच हजार रुपैयाँ बराबरको ओपीडी सेवा कायम गरिएको छ।
बोर्डका अनुसार हाल स्वास्थ्य बिमा कार्यक्रमको कुल बजेटमध्ये ७० प्रतिशतभन्दा बढी हिस्सा सामान्य बिरामीको ओपीडी सेवामै खर्च भइरहेको छ। यसका कारण परिवारमा कसैलाई गम्भीर रोग लाग्दा वा महँगो शल्यक्रिया आवश्यक पर्दा बिमाको रकम अपुग हुने र बिरामीले आफ्नै खर्चमा ठूलो रकम व्यहोर्नुपर्ने अवस्था सिर्जना हुँदै आएको छ।
यही समस्यालाई सम्बोधन गर्न वास्तविक बिरामीको उपचारमा बिमाको रकम प्रभावकारी रूपमा प्रयोग होस् भन्ने उद्देश्यले ओपीडी, अस्पताल भर्ना तथा शल्यक्रियाजस्ता सेवामा खर्चको सीमा तोकिएको बोर्डले जनाएको छ।
स्वास्थ्य बिमा बोर्डले बीमित नागरिकलाई तोकिएको व्यवस्थाअनुसार सेवा प्रयोग गर्न र भ्रामक सूचनामा नपर्न आग्रह गरेको छ।















