भाइरल भिडियोपछि पक्राउ परेका चालकलाई ७ दिन थुनामा राख्ने अनुमति

Image

काठमाडौंमा पैदलयात्रीलाई सडकमै मुक्का प्रहार गर्ने कार चालकलाई सात दिन हिरासतमा राख्न अनुमति दिइएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंले ४२ वर्षीय पारस बमलाई अभद्र व्यवहारसम्बन्धी कसुरमा सात दिन न्यायिक हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईका अनुसार मंगलबार पक्राउ परेका बमलाई प्रारम्भिक अनुसन्धानपछि हिरासतमा राखिएको छ। उनलाई मंगलबार दिउँसो काठमाडौंको भोटाहिटी क्षेत्रबाट काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको टोलीले नियन्त्रणमा लिएको थियो। त्यसपछि थप कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको थियो।

प्रहरीका अनुसार उक्त घटना गत शनिबार महाराजगञ्जस्थित चप्पल कारखाना नजिकै भएको थियो। सामाजिक सञ्जालमा एक कार चालकले पैदलयात्रीलाई गाली गर्दै मुक्का प्रहार गरेको भिडियो भाइरल भएपछि प्रहरीले खोजी सुरु गरेको थियो।

प्रारम्भिक बयानमा बमले ती पैदलयात्रीले आफूलाई अपशब्द बोलेको भन्दै मुक्का प्रहार गरेको बताएका छन्। भाइरल भिडियोमा कारबाट झरेका बमले पैदलयात्रीमाथि हातपात गरेको देखिन्छ। त्यसक्रममा एक महिलाले पनि गाली गरेको आवाज सुनिन्छ भने त्यसपछि पुनः आक्रमण गरिएको दृश्य देखिन्छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।