इरानविरुद्धको युद्ध खर्च अरब देशबाट तिराउने ट्रम्पको इच्छा

Image

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्धको युद्ध खर्च अरब मुलुकहरूबाट उठाउने विषयमा चासो देखाएका छन्। ह्वाइट हाउसकी प्रेस सेक्रेटरी क्यारोलिन लेभिटले सोमबार पत्रकारहरूसँगको संवादमा राष्ट्रपतिले यसबारे विचार गरिरहेको बताएकी हुन्।

पत्रकारहरूले “के अरब देशहरूले पनि अमेरिकालाई इरानविरुद्धको युद्ध खर्च तिर्नुपर्ने हुन्छ? ” भन्ने प्रश्न गर्दा लेभिटले राष्ट्रपतिले ती देशहरूसँग यसबारेमा छलफल गर्न सक्ने संकेत दिएकी थिइन्। अन्तराष्ट्रियमाध्यम अल जजिराले पनि लेभिटको भनाइ उद्धृत गर्दै यो विषयमा ट्रम्प स्वयंले थप स्पष्ट पार्न सक्ने जनाएको छ।

यसअघि सन् १९९० मा इराकविरुद्धको युद्धका बेला अमेरिकाले विभिन्न देशहरूको गठबन्धन नेतृत्व गरेको थियो। त्यस क्रममा जर्मनी, जापान र केही अरब मुलुकहरूले करिब ५४ अर्ब डलर बराबरको आर्थिक सहयोग दिएका थिए। तर वर्तमान अवस्था त्यतिबेलाको भन्दा फरक रहेको विश्लेषकहरू बताउँछन्। यसपटक अमेरिकाले अन्य राष्ट्रहरूसँग व्यापक परामर्श नगरी इसराइलसँग मिलेर इरानमा आक्रमण गरेको उल्लेख गरिएको छ।

अमेरिकी पत्रिका न्यूयोर्क टाइम्सका अनुसार युद्धको पहिलो सातामै करिब ११ अर्ब डलरभन्दा बढी खर्च भइसकेको थियो। युद्ध लम्बिँदै जाँदा एजीएम–१५४ ग्लाइड बमजस्ता महँगा हतियार प्रयोग गरिएको छ, जसको मूल्य प्रति बम करिब ५ लाख ७८ हजारदेखि ८ लाख ३६ हजार डलरसम्म पर्ने रोयटर्सले जनाएको छ।

बढ्दो खर्चलाई ध्यानमा राख्दै अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन) ले इरानविरुद्धको सैन्य अभियानका लागि २०० अर्ब डलरभन्दा बढी बजेट माग गरेको छ। युद्ध सुरु भएको करिब तीन सातामै यस्तो प्रस्ताव ह्वाइट हाउसमा पेश गरिएको थियो। एक महिनाभन्दा बढी समय बितिसक्दा अनुमानभन्दा धेरै गुणा बढी खर्च भइसकेको बताइए पनि आधिकारिक विवरण भने सार्वजनिक गरिएको छैन।

यसबीच ट्रम्प निकट राजनीतिक टिप्पणीकार सिन ह्यानिटीले सम्भावित युद्धविराम सम्झौतामा इरानलाई नै युद्ध खर्च तिर्न बाध्य पार्ने व्यवस्था हुनुपर्ने बताएका छन्। तर इरानले भने उल्टै अमेरिकाले क्षतिपूर्ति तिर्नुपर्ने अडान राख्दै आएको छ। कूटनीतिक वार्ताकै क्रममा आफूमाथि आक्रमण भएको दाबी गर्दै इरानले अमेरिकासँग क्षतिपूर्ति माग गरेको हो।

यता ट्रम्पले इरानलाई गम्भीर क्षति पुर्‍याइएको दाबी गरिरहँदा इजरायलले अझै पनि इरानमाथि मिसाइल र ड्रोन आक्रमण जारी राखेको छ। त्यसको जवाफमा इरानले इसराइल तथा मध्यपूर्वमा रहेका अमेरिकी सैन्य अड्डाहरूलाई लक्षित गरी आक्रमण गरिरहेको छ।