प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता हुँदैछ। संसद् सचिवालयले उम्मेदवारी दर्ताका लागि बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्मको समय तोकेको जनाएको छ।
निर्वाचन तालिकाअनुसार आज दिउँसो साढे २ बजे उम्मेदवारहरूको अन्तिम सूची प्रकाशन गरिनेछ। उपसभामुख पदका लागि मतदान भने शुक्रबार अपराह्न ४ बजे बस्ने प्रतिनिधिसभा बैठकमा हुनेछ।
उपसभामुख पदमा श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले मुख्य दाबी प्रस्तुत गरेका छन्। तर, वर्तमान अंकगणितअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समर्थन निर्णायक हुने देखिएको छ। रास्वपाले जसलाई समर्थन गर्छ, सोही पक्षबाट उपसभामुख चयन हुने सम्भावना बलियो रहेको छ।
प्रतिनिधिसभामा दलहरूको संख्या हेर्दा रास्वपाका १८२, नेपाली कांग्रेसका ३८, एमालेका २५, नेकपाका १७, श्रम संस्कृति पार्टीका ७, राप्रपाका ५ र एक स्वतन्त्र सांसद रहेका छन्। यसले उपसभामुख निर्वाचनमा गठबन्धन र समर्थनको भूमिका महत्वपूर्ण रहने स्पष्ट संकेत गरेको छ।















