पोखराको सभागृह चोकमा बुधबार साँझ ४२ वर्षीया सिर्जना पौडेल क्षेत्रीको हत्या भएको छ। एकल जीवन बिताइरहेकी उनलाई धारिलो हतियारले पछाडिबाट टाउकोमा प्रहार गरी हत्या गरिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डीएसपी हरिबहादुर बस्नेतका अनुसार प्रहारपछि पीडित चिच्याएर लडेपछि आक्रमणकारी घटनास्थलबाट भागेका थिए। घटनापछि उनी स्कुटीमा शिवालय चोकतर्फ भागेको सीसीटीभी फुटेजमा देखिएको प्रहरीले जनाएको छ। शिवालय लेकसाइड जाने मुख्य बाटो भएकाले त्यहाँ जडान भएका सीसीटीभी फुटेजको अध्ययनबाट आक्रमणकारीको पहिचान नजिक पुगेको प्रहरीको दाबी छ।
पोखरा महानगरपालिका–५ जीरोकिलोका मासु पसल तथा रेस्टुरेन्ट व्यवसायी कृष्ण केसीसँग सिर्जनाले दोस्रो विवाह गरेकी थिइन्। स्थानीयबीच ‘खसी किस्ने’ उपनामले चिनिने कृष्णले पहिलो पत्नीको निधनपछि तनहुँकी सिर्जनासँग विवाह गरेका थिए।
तर, विवाहपछि केसी परिवारभित्र सम्बन्ध सहज रहन सकेन। विशेषगरी जेठीतर्फका छोरा तथा अन्य परिवार सदस्यसँग विवाद बढेपछि कृष्णले सिर्जनाका लागि फेवाताल किनारको सेदीमा छुट्टै घर बनाइदिएका थिए।
कृष्णसँग विवाहपछि जन्मिएकी छोरी अहिले तीन वर्षकी छन्। छोरी जन्मिएकै वर्ष कृष्णको निधन भएपछि सिर्जना सेदीस्थित घरमा छोरीको स्याहार गर्दै एक्लै बस्दै आएकी थिइन्।
पारिवारिक स्रोतका अनुसार सेदीमा बनाइएको घर र जग्गाको विषयमा केसी परिवारभित्र लामो समयदेखि विवाद चल्दै आएको थियो। सो जग्गामा परिवारका अन्य सदस्यले पनि दाबी गरेको बताइन्छ।
प्रहरीका अनुसार घटनाका दिन सिर्जना घरायसी सामान किनमेलका लागि बजार गएकी थिइन्। फर्किनका लागि गाडी पर्खिरहेका बेला उनीमाथि पछाडिबाट धारिलो हतियार प्रहार गरिएको थियो।
जेठीतर्फका छोरा लागुऔषध मुद्दामा हाल जिल्ला कारागार कास्कीमा कैद भोगिरहेका छन्। प्रहरीले घटनाको कारणबारे अनुसन्धान जारी रहेको जनाएको छ। प्रारम्भिक अनुसन्धानका आधारमा सम्पत्तिको विवादसँग घटना जोडिएको हुनसक्ने आशंका गरिएको छ।














