राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुस्बु ओली ले उपसभामुख निर्वाचनसम्बन्धी सहमति सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले तोडेको आरोप लगाएकी छन्।
प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले रास्वपाले राजनीतिक अविश्वासको वातावरण सिर्जना गरेको बताइन्। “हामीले उठाएको प्रश्न पदको होइन, राजनीतिक आचरणको हो,” उनले भनिन्, “यो संविधानले प्रतिपक्षलाई दिएको अधिकार मात्र होइन, राजनीतिक संस्कार र विश्वसनीयताको परीक्षण पनि हो।”
ओलीले राप्रपाले उपसभामुखमा दिएको उम्मेदवारी पदलोलुपताका कारण नभई सहकार्यको सम्भावना र समझदारीका आधारमा दिएको स्पष्ट पारिन्। तर रास्वपाले उक्त समझदारी उल्लंघन गर्दै अविश्वासको उदाहरण प्रस्तुत गरेको उनको आरोप छ।
उनले भनिन्, “सहकार्यको आधार विश्वास हो, तर यहाँ अविश्वासलाई नै नयाँ राजनीतिक संस्कार बनाउने प्रयास भयो। राजनीतिक प्रतिबद्धता परिस्थिति अनुसार बदलिने कुरा मात्र हो कि त्यसमा नैतिक जिम्मेवारी पनि हुन्छ ?”
रास्वपाको व्यवहारले पार्टीकै विश्वसनीयतामा असर पर्ने चेतावनी दिँदै उनले राप्रपा आफ्नो प्रतिबद्धतामा दृढ रहेको दाबी गरिन्।
साथै उनले “नयाँ” र “पुरानो” राजनीतिबीचको बहसप्रति कटाक्ष गर्दै आफूलाई नयाँ वा पुरानो के मान्ने भन्ने प्रश्न समेत उठाइन्। “यदि नयाँको नाममा फेरि सिन्डिकेट स्थापना गर्न खोजिएको हो भने हामीलाई चिनाउने लोगो बनाइदिनुहोस्,” उनले व्यंग्य गरिन्।
उनले अन्त्यमा यस्तो राजनीतिक संस्कार सदनमा दोहोरिन नहुनेमा जोड दिँदै राप्रपाले घटनालाई बिर्सने र माफ गर्ने उल्लेख गरिन्।
















