बाँकेको कोहलपुर नगरपालिका-१५, अक्कलघरवामा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्।
शनिबार कोहलपुरको भित्री सडकमा मोटरसाइकललाई टिपरले ठक्कर दिँदा दुर्घटना भएको हो। दुर्घटनामा मोटरसाइकलमा सवार जाजरकोटको छेडागाउ नगरपालिका-५ की ५७ वर्षीया देवीसरा रावतको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक पातलीले जानकारी दिए।
दुर्घटनामा मोटरसाइकल चालक सुदीप रावत गम्भीर घाइते भएका छन्। सुदीप आमालाई मोटरसाइकलमा लगेर हवलदारपुर गाउँतिर जाँदै थिए।
डीएसपी पातलीका अनुसार स्थानीय गुरुवा गाउँदेखि हवलदारपुरतर्फ गइरहेको कर्णाली प्रदेश ०२-००१ ब ०३६१ नम्बरको मोटरसाइकललाई हवलदारपुरबाट गुरुवागाउतर्फ गइरहेको भे १ ख ३२३२ नम्बरको टिपरले अक्कलघरवामा ठक्कर दिएको हो। दुर्घटनामा गम्भीर घाइते भएका सुदीपको नेपालगञ्जस्थित सञ्जिवनी अस्पतालमा उपचार भइरहेको छ। उनको छाती र टाउकोमा गम्भीर चोट लागेको जनाइएको छ।
टिपर चालक बाँकेको राप्ति सोनारी-९ निवासी टेकबहादुर विष्टलाई प्रहरीले नियन्त्रणमा लिएको छ।














