कैलालीमा जिप र मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार कैलारी गाउँपालिका–१ स्थित हुलाकी राजमार्गमा सुप्रप्र ०१–००१ च ३७५३ नम्बरको बोलेरो पिकअप जिप र बा २६ प ३०२७ नम्बरको मोटरसाइकल ठोक्किँदा दुर्घटना भएको हो।
दुर्घटनामा धनगढी उपमहानगरपालिका–१९ फूलबारीका २२ वर्षीय राममिलन चौधरी गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि निसर्ग अस्पताल धनगढी लगिएको भए पनि उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीले बोलेरो पिकअप र चालक कैलालीको भजनी नगरपालिका–५ का २३ वर्षीय राजु डगौरा लाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान अघि बढाएको छ।














