रास्वपाको संसदीय दल बैठक आज, समितिका सभापति चयनअघि रणनीति तय गर्ने

Image

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय समितिका सभापतिहरूको मनोनयन अघि आफ्नो संसदीय दलको बैठक बोलाएको छ। पार्टीका सहमहामन्त्री विपिनकुमार आचार्यका अनुसार बैठक बिहीबार बिहान १२ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्नेछ।

बिहीबार नै संसदीय समितिका सभापतिहरूका लागि मनोनयन दर्ता हुने कार्यतालिका रहेको छ। त्यसअघि दलभित्र आवश्यक रणनीति, उम्मेदवार चयन तथा समन्वयका विषयमा छलफल गर्न बैठक बोलाइएको बताइएको छ।

गत चैत २७ गते प्रतिनिधिसभाले विषयगत समितिहरूमा रहने सदस्यहरूको टुंगो लगाएको थियो। सोही दिन सभामुख डोलप्रसाद अर्यालले आगामी शुक्रबार समितिका सभापतिहरूको निर्वाचन मिति तोकेका थिए।

संघीय संसद् अन्तर्गत हाल १६ वटा संसदीय समिति रहेका छन्। जसमध्ये प्रतिनिधिसभा अन्तर्गत १० वटा, राष्ट्रिय सभा अन्तर्गत ४ वटा र २ वटा संयुक्त समिति छन्। राष्ट्रिय सभाका समितिहरूका सभापतिहरूको निर्वाचन यसअघि नै सम्पन्न भइसकेको छ भने प्रतिनिधिसभा अन्तर्गतका १० र संयुक्त २ समितिका सभापतिहरूको निर्वाचन हुन बाँकी रहेको छ।