नयाँ वर्षको पहिलो कारोबारमै सेयर बजारमा उत्साह, नेप्से ३३ अंकले उकालो

Image

नयाँ वर्ष २०८३ को पहिलो कारोबार दिन बुधबार सेयर बजारमा उल्लेखनीय सुधार देखिएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३३.२७ अंकले वृद्धि भई २८६६ अंकमा पुगेको हो।

कारोबारका क्रममा बजारले उच्च बिन्दु समेत छोएको थियो। दिउँसो १:०७ बजे नेप्से २८७९ अंकसम्म पुगे पनि त्यसपछि केही घट्दै बन्द भएको देखिन्छ। बजारमा लगानीकर्ताको सक्रियता बढेसँगै कारोबार रकममा पनि उल्लेखनीय वृद्धि भएको छ। अघिल्लो दिन ८ अर्ब ६६ करोड रुपैयाँको कारोबार भएकोमा बुधबार १० अर्ब ५३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।

आज कुल २२१ कम्पनीको सेयर मूल्य बढेको छ भने ४५ कम्पनीको घटेको र ३ कम्पनीको स्थिर रहेको छ। सबै समूहका सूचकहरू हरियाली देखिएका छन्। विशेषगरी होटल तथा पर्यटन समूहमा सबैभन्दा धेरै ३.१६ प्रतिशतको वृद्धि देखिएको छ।

अन्य समूहहरूमा पनि सकारात्मक वृद्धि देखिएको छ। बैंकिङ १.३० प्रतिशत, विकास बैंक १.५३ प्रतिशत, फाइनान्स १.२१ प्रतिशत, हाइड्रोपावर २.१४ प्रतिशत, लगानी ०.८९ प्रतिशत, जीवन बीमा ०.४६ प्रतिशत, उत्पादन तथा प्रशोधन ०.११ प्रतिशत, माइक्रोफाइनान्स ०.६४ प्रतिशत, निर्जीवन बीमा ०.३९ प्रतिशत, अन्य ०.१० प्रतिशत तथा व्यापार समूह २.३३ प्रतिशतले बढेका छन्।

यस दिन ७ कम्पनीहरूको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। पाल्पा सिमेन्ट, होटल फरेस्ट इन, रिजलाइन इनर्जी, सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक, सुपर खुदी हाइड्रोपावर, शिखर पावर र सिन्धु विकास बैंकका लगानीकर्ताले १० प्रतिशतसम्म नाफा कमाएका छन्।

त्यस्तै, सोलु हाइड्रोपावरको सेयर मूल्य ८.६३ प्रतिशतले बढ्दा नारायणी डेभलपमेन्ट बैंक ५.५३ प्रतिशत र ओरियन्टल होटल ५.१४ प्रतिशतले उकालो लागेको छ।

यता, रिलायन्स स्पिनिङ मिल्सको सेयर मूल्य सबैभन्दा धेरै ५.६१ प्रतिशतले घटेको छ भने उपकार लघुवित्तको मूल्य ४.४४ प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा शिवम् सिमेन्ट, नेसनल हाइड्रोपावर, रिलायन्स स्पिनिङ मिल्स, सोलु हाइड्रोपावर र रिडी पावर अग्रस्थानमा रहेका छन्।