अब एनओसी लिन कार्यालय धाउनुपर्दैन, सेवा पूर्ण अनलाइन

Image

वैदेशिक अध्ययनका लागि जाने नेपाली विद्यार्थीहरूले अब ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) घरबाटै अनलाइनमार्फत लिन सक्ने भएका छन्। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत सानोठिमीस्थित एनओसी शाखाले सेवा ‘फेसलेस’ बनाउँदै अनलाइन प्रणाली पूर्ण कार्यान्वयनमा ल्याएको हो।

एनओसी शाखाका अनुसार त्रिभुवन विश्वविद्यालय (त्रिवि) र काठमाडौं विश्वविद्यालय (केयू) सँग एपीआईमार्फत प्रणाली अन्तरआवद्धता सम्पन्न भएसँगै विद्यार्थीहरूले घरमै बसेर आवेदन दिन र प्रमाणपत्र आफैं प्रिन्ट गर्न सक्ने व्यवस्था गरिएको छ। यसका लागि वैशाख ४ गते त्रिविसँग सम्झौता भएको छ भने केयूसँग यसअघि नै सम्झौता भइसकेको थियो।

यसअघि आवेदकले दिएको विवरण प्रमाणीकरणका लागि गृह मन्त्रालयको ‘सिटिजन इन्फरमेसन म्यानेजमेन्ट सिस्टम’ (सीआइएमएस) र राष्ट्रिय परीक्षा बोर्ड (एनईबी) सँगको प्रणालीमार्फत प्रमाणपत्र रुजु हुने व्यवस्था थियो। तर स्नातकोत्तर वा सोभन्दा माथिल्लो तहका लागि विश्वविद्यालयसँग प्रणाली नजोडिँदा आवेदकलाई भौतिक रूपमा कार्यालय उपस्थित हुनुपर्ने बाध्यता थियो।

अब त्रिवि र केयूसँगको अन्तरआवद्धतापछि आवेदकले दिएको विश्वविद्यालय रजिस्ट्रेसन नम्बर र जन्ममितिको आधारमा प्रमाणपत्र विवरण स्वतः प्रमाणीकरण हुने भएकाले कार्यालय धाउनुपर्ने आवश्यकता हटेको एनओसी शाखाले जनाएको छ।

साथै, महालेखा नियन्त्रण कार्यालयको ‘रेभिन्यू इन्फरमेशन क्यासलेस म्यानेजमेन्ट सिस्टम’ (रिमास) सँग जोडिएकाले एनओसी शुल्क पनि पूर्ण रूपमा अनलाइनमार्फत तिर्न सकिनेछ। स्वीकृत भएको एनओसी सर्टिफिकेट आवेदकले आफ्नै प्रोफाइलबाट डाउनलोड गर्न सक्नेछन् भने प्रमाणपत्रमा क्यूआर कोड समेत समावेश गरिएको छ, जसलाई स्क्यान गरेर प्रमाणीकरण गर्न सकिन्छ।

यस प्रणालीले सेवा प्रवाहलाई छिटो, पारदर्शी र सहज बनाउने अपेक्षा गरिएको छ।