नेपाल वायु सेवा निगमले निकट भविष्यमै काठमाडौं–ढाका सिधा उडान सञ्चालन गर्ने तयारी सुरु गरेको छ। यसका लागि निगमले सम्भाव्यता अध्ययन गर्न उपसमिति गठन गरी आवश्यक प्रक्रिया अघि बढाएको जनाएको छ।
निगमका अपरेसन विभाग निर्देशक एवं वरिष्ठ क्याप्टेन सुवास रिजालका अनुसार छिमेकी देश भए पनि ढाकामा नेपाली ध्वजावाहकको सिधा उडान अहिलेसम्म हुन सकेको थिएन। उक्त आवश्यकता पूरा गर्न अध्ययन कार्य भइरहेको उनले बताए।
हाल काठमाडौं–ढाका रुटमा बंगलादेशबाट नियमित उडान भइरहेका छन् भने हिमालयन एयरलाइन्सले पनि ढाकामा सेवा दिँदै आएको छ। तर राष्ट्रिय ध्वजावाहकको उडान भने सुरु हुन बाँकी छ। अध्ययन समितिको प्रतिवेदनका आधारमा उडानको टुंगो लाग्ने निगमले जनाएको छ।
यसैबीच निगमले काठमाडौं–दिल्ली–काठमाडौं रुटमा उडान संख्या थप विस्तार गरेको छ। गत १७ चैतदेखि सातामा थप तीन उडान थपिएपछि अब उक्त रुटमा साताको १० उडान सञ्चालन भइरहेको छ।
कार्गो सेवाको सुधारका लागि निगमले ‘कार्गो म्यानेजमेन्ट सिस्टम स्टडी टास्कफोर्स’ समेत गठन गरेको जनाएको छ।
















