पर्वतमा सडक कालोपत्रका लागि २० दिन सवारी आवागमन बन्द

Image

पर्वत जिल्लाको दोविल्ला–सिल्मी–ठूलीपोखरी–खौला–कार्कीनेटा सडकअन्तर्गत ठूलीपोखरी–खौला खण्ड २० दिनका लागि बन्द गरिने भएको छ। कालोपत्रको तयारीस्वरूप यही वैशाख १० देखि ३० गतेसम्म सवारीसाधन आवतजावत बन्द गर्ने निर्णय गरिएको हो।

जिल्ला प्रशासन कार्यालय पर्वतमा बसेको सरोकारवालाको बैठकले उक्त अवधिमा चार पाङ्ग्रे सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो। भने दुई पाङ्ग्रे सवारीलाई भने सञ्चालन गर्न दिइनेछ।

उक्त सडकखण्डको करिब तीन किलोमिटर क्षेत्रमा अहिले कालोपत्रको काम भइरहेको छ। निर्माण कार्यलाई सहज बनाउन वैकल्पिक मार्गका रूपमा बाम्रा–गैराथोक–राताडाँडा हुँदै बुमी–लाम्पाटा–गहतेपोखरा–साइकलचोक सडक प्रयोग गर्न प्रशासनले अनुरोध गरेको छ।

पूर्वाधार विकास कार्यालयका अनुसार ठूलीपोखरी–खौला खण्डमा नाली निर्माण, सडक चौडा गर्ने, ग्यावियन जाली लगाउनेलगायत संरचनात्मक काम सकिएपछि अहिले सबबेस बिछ्याउने काम भइरहेको छ।

कार्यालयका इन्जिनियर विज्ञान पौडेलका अनुसार गण्डकी प्रदेश सरकारको बहुवर्षीय योजनाअन्तर्गत पाँच करोड ८० लाख रुपैयाँको लागतमा गत वर्षदेखि निर्माणकार्य सुरु भएको हो। यस वर्ष करिब तीन किलोमिटर सडक कालोपत्र गरिनेछ, जसमध्ये २५० मिटर भाग ढलान गरिनेछ।

निर्माण कम्पनी देबचुली–कालीगङ्गा जेभीका इन्जिनियर प्रविन गुरुङले तोकिएको समयमै काम सम्पन्न गर्न सवारी आवागमन बन्द गरी तीव्र गतिमा काम भइरहेको बताए।

यसअघि सिल्मीदेखि ठूलीपोखरीसम्मको केही खण्ड कालोपत्र भइसकेको छ भने बाँकी भागमा काम भइरहेको छ। खौलादेखि कार्कीनेटासम्म अझै करिब चार किलोमिटर सडक कालोपत्र गर्न बाँकी छ।

सडक पूर्ण रूपमा कालोपत्र भएमा मध्यपहाडी लोकमार्गको वैकल्पिक मार्गका रूपमा प्रयोग गर्न सकिनेछ। हाल पनि स्याङ्जा, पाल्पा र बुटवलतर्फ जाने केही सवारीसाधनले यो मार्ग प्रयोग गर्दै आएका छन्।

कुश्मा नगरपालिका–१२ ठूलीपोखरीका वडाध्यक्ष झलक रिमालले बजेट अभावका कारण काम ढिलाइ भएको उल्लेख गर्दै आगामी आर्थिक वर्षमा बाँकी काम पूरा गर्ने योजना रहेको बताए।

प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद पौडेलले निर्माण अवधिमा केही असहजता हुने भएकाले स्थानीयलाई वैकल्पिक मार्ग प्रयोग गरी सहयोग गर्न आग्रह गरेका छन्। साथै निर्माण व्यवसायीलाई २० दिनभित्र काम सम्पन्न गर्न निर्देशन दिएका छन्।