भारतले लगायो प्याज निर्यातमा ४० प्रतिशत कर

छिमेकी मुलुक भारतले प्याज निर्यातमा ४० प्रतिशत कर लगाएको छ । सेन्ट्रल बोर्ड अफ इनडाइरेक्ट ट्याक्स एन्ड कस्टमले शनिबार प्याज निर्यातमा ४० प्रतिशत भन्सार शुल्क लगाएको हो ।

यो कर शुल्क २१ डिसेम्बर २०२३ सम्म लागू हुने बताइएको छ । भारतमा गत महिनामात्रै प्याजको मूल्य २० प्रतिशतले बढेको थियो ।

भारतमा प्याज किलोको २४ भारु परिरहेको छ । भारतमा अगस्ट महिनामा विगत एक दशक यताकै सुख्खायाम लागेकोले पनि उत्पादनमा कटौती भइरहेको छ ।

भारतको अर्थ मन्त्रालयअन्तर्गत अप्रत्यक्ष कर तथा भन्सार बोर्डले २ भदौदेखि १५ पुससम्म लागू हुने गरी प्याज निर्यातमा महसुल बढाएको हो । भारत विश्वको सबैभन्दा ठूलो प्याज निर्यातकर्ता मुलुक हो । मूल्य वृद्धिबाट आफ्ना जनतालाई राहत दिन भारतीय सरकारले यस्तो निर्णय गरेको जनाइएको छ ।

नेपालको मुख्य प्याजको स्रोत मुलुक भारत हो । नेपालमा भारतबाट वार्षिक ६ अर्ब ७५ करोड रुपैयाँ बराबरको ताजा प्याज आयात हुन्छ भने ७ करोड रुपैयाँको सुकाएको प्याज आयात हुन्छ । भारतले निर्यात कर बढाएपछि नेपालमा प्याजको भाउ आकासिने भएको छ ।