नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्य वृद्धि भएको छ। आइतबार तीव्र वृद्धि देखिएको सुनको भाउ सोमबार पनि बढ्दै नयाँ उच्च नजिक पुगेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ३ लाख ५ सय रुपैयाँ कायम भएको छ। आइतबार प्रतितोला २ लाख ९९ हजार २ सय रुपैयाँमा कारोबार भएको सुन आज थप १ हजार ३ सय रुपैयाँले बढेको हो। यसअघि आइतबार मात्र सुनको भाउ तोलामा २ हजार ७ सय रुपैयाँले उकालो लागेको थियो।
चाँदीको मूल्यमा पनि वृद्धि देखिएको छ। आइतबार प्रतितोला ४ हजार ९ सय ९५ रुपैयाँमा कारोबार भएको चाँदी आज बढेर ५ हजार ४५ रुपैयाँ पुगेको छ, जुन अघिल्लो दिनको तुलनामा ५० रुपैयाँले बढी हो।
अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य उच्च स्तरमा रहेको छ। आज सुन प्रतिऔंस ४ हजार ७२२ अमेरिकी डलरमा कारोबार भइरहेको जनाइएको छ।
















